पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
कराची। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र पर्सियन खाडी क्षेत्रमा बढेको सैन्य तनावको प्रभाव देखाउँदै पाकिस्तान सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
पछिल्लो निर्णयअनुसार पेट्रोल र हाई-स्पिड डिजेल दुवैको मूल्य प्रतिलिटरमा वृद्धि गरिएको छ।
पाकिस्तानी सरकारले पेट्रोलको मूल्य प्रतिलिटर ६.३९ पाकिस्तानी रुपैयाँ र हाई–स्पिड डिजेलको मूल्य ७.८३ रुपैयाँले बढाएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ३२७ रुपैयाँ १२ पैसा र हाई–स्पिड डिजेल ३७५ रुपैयाँ ४ पैसा पुगेको छ। पेट्रोलियम डिभिजनले जारी गरेको सूचनाअनुसार संशोधित मूल्य बिहीबारदेखि लागू भएको छ।
सरकारले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर परिवर्तन भइरहनु र मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावका कारण आयात लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको जनाएको छ।
यसअघि अल पाकिस्तान पेट्रोलियम पम्प ओनर्स एसोसिएसनले सरकारले लागू गर्न लागेको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै देशव्यापी हडतालको घोषणा गरेको थियो। तर पेट्रोलियम मन्त्रीसँगको वार्तापछि संगठनले आन्दोलन तत्कालका लागि दुई सातासम्म स्थगित गरेको छ।
पाकिस्तानमा पछिल्ला महिनादेखि इन्धनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। हाई–स्पिड डिजेलको मूल्य अप्रिल ३ मा प्रतिलिटर ५२० रुपैयाँ ३५ पैसासम्म पुगेको थियो। फेब्रुअरी २८ पछि अन्तर्राष्ट्रिय परिस्थितिका कारण यसको मूल्य लगातार बढ्दै गएको थियो।
त्यसैगरी पेट्रोलको मूल्य पनि मार्चको पहिलो सातामा प्रतिलिटर २६६ रुपैयाँबाट बढ्न सुरु भई अप्रिल ३ मा ४५८ रुपैयाँ ४१ पैसासम्म पुगेको थियो। त्यसयता मूल्यमा केही समायोजन भए पनि पछिल्लो निर्णयले फेरि इन्धन महँगिएको छ।
पेट्रोलियम मन्त्री अली परवेज मलिकका अनुसार अब पाकिस्तानमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार दैनिक रूपमा निर्धारण गरिनेछ। मन्त्रिपरिषद् र प्रधानमन्त्रीको निर्णयअनुसार तेल तथा ग्यास नियामक प्राधिकरणलाई हरेक दिन मूल्य समायोजन गर्ने अधिकार दिइएको उनले बताएका छन्।
तर सरकारको यो निर्णयलाई अल पाकिस्तान डिलर्स एसोसिएसनले स्वीकार गरेको छैन। संगठनले दैनिक मूल्य निर्धारण प्रणाली व्यवसायी र उपभोक्ता दुवैका लागि असहज हुने भन्दै विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।
पाकिस्तानमा पेट्रोल मुख्य रूपमा निजी सवारीसाधन, मोटरसाइकल, रिक्सा तथा साना गाडीमा प्रयोग हुने भएकाले यसको मूल्यवृद्धिले मध्यम र निम्न–मध्यम वर्गका नागरिकको दैनिक खर्च बढ्ने अनुमान गरिएको छ।
यस्तै हाई–स्पिड डिजेल ट्रक, बस, मालवाहक सवारी, विद्युत् उत्पादन केन्द्र तथा ठूला जेनेरेटरमा प्रयोग हुने भएकाले यसको मूल्य बढ्दा ढुवानी लागत महँगिने र त्यसको प्रत्यक्ष असर खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत पर्ने विश्लेषण गरिएको छ।
इन्धनको मूल्यवृद्धिले बढ्दो महँगीको सामना गरिरहेका पाकिस्तानी नागरिकमाथि थप आर्थिक दबाब पर्ने देखिएको छ भने दैनिक मूल्य समायोजन प्रणालीले आगामी दिनमा बजारमा अझ बढी मूल्य अस्थिरता ल्याउन सक्ने चिन्ता पनि व्यक्त हुन थालेको छ।
