`

हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड

Nepal One HD ८ साउन २०८३ १९:१२
समाचार

काठमाडौँ। जलवायु परिवर्तनबाट उत्पन्न हानि तथा क्षतिका विषयलाई तथ्यमा आधारित र संवेदनशील ढङ्गले सञ्चारमाध्यमबाट सामग्री सम्प्रेषण गरिनुपर्नेमा जोड दिइएको छ।

विपद् पत्रकारिता सञ्जाल डिजेएन तथा प्राक्टिकल एक्सन नेपाल र आइआइइडीको संयोजनमा नेपालमा विपद्ले आर्थिक तथा गैरआर्थिक क्षति र नोक्सानीबारे पत्रकार अभिमुखीकरणसम्बन्धी एकदिने कार्यशालाका सहभागी वक्ताहरूले सो कुरामा जोड दिएका हुन्।

नेपालमा जलवायु परिवर्तन एवं विपद्का कारण समुदायमा भइरहेका आर्थिक तथा गैरआर्थिक क्षति र नोक्सानीबारे पत्रकारको भूमिका अझ जिम्मेवार बन्नुपर्ने सहभागीहरूको भनाइ रहेको छ। विपद् सम्बन्धी समाचार सम्प्रेषण गर्दा क्षति भएका विवरण मात्र नभएर त्यसले समुदायस्तरमा पार्ने प्रभावबारे पनि जानकारी दिन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको सहभागीहरूले औँल्याएका छन्।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (यूएन–एफएओ) को हानि तथा क्षति विज्ञ उज्ज्वल उपाध्यायले विपद् र जलवायु परिवर्तनले पूर्वाधार, कृषि, पशुपालन वा सम्पत्तिमा हुने आर्थिक क्षतिमा मात्र सीमित नभई संस्कृति, मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध तथा पहिचानमा पर्ने असरले पनि समाज र समुदायस्तरमा पार्ने दीर्घकालीन असरका बारेमा प्रकाश पारे।

उनले नेपालजस्तो जलवायु जोखिमयुक्त मुलुकमा आर्थिक र गैर–आर्थिक दुवै प्रकारका हानि तथा क्षतिको अभिलेखीकरण, तथ्याङ्क सङ्कलन तथा नीतिगत सम्बोधन आवश्यक रहेको उल्लेख गर्दै विपद्का कारण आर्थिक र गैरआर्थिकबारे क्षति बारे प्रष्ट बुझेर सम्प्रेषण गर्न आवश्यक रहेको बताए।

अर्थ जर्नालिज्म नेटवर्कका दक्षिण एसिया संयोजक रमेश भुषालले जलवायु परिवर्तनसम्बन्धी समाचारलाई घटना केन्द्रित मात्र सीमित नगरी समुदायस्तरमा पार्ने दीर्घकालीन सामाजिक, आर्थिक तथा मानवीय प्रभावलाई समेत प्राथमिकताका साथ समेट्न आवश्यक रहेको बताए। डीजेएनकी अध्यक्ष अमिका राजथलाले जलवायु सङ्कटको प्रभाव प्रत्यक्ष रूपमा समुदायमा देखिइरहेको अवस्थामा पत्रकारको भूमिका अझ जिम्मेवार बन्नुपर्ने जोड दिंदै विपद् क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरूको बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले पत्रकार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *