एमाले संकटबारे शंकर पोखरेलको आत्मस्वीकार : ‘हामी जनताबाट टाढियौं’
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको वर्तमान अवस्था आफ्नै आन्तरिक कमजोरीका कारण आएको स्वीकार गर्दै अब वैचारिक पुनर्गठन अपरिहार्य भएको बताएका छन्।
आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेतृत्वले समयमै कमजोरी सच्याउन नसक्दा पार्टीले ठूलो राजनीतिक क्षति बेहोर्नुपरेको बताए।
‘हाम्रै कमजोरीले यो अवस्था आएको हो। कमजोरी कहाँ छन् भन्ने संकेत पहिले नै आएको थियो, तर समयमै सुधार गर्न सकिएन। अब वैचारिक पुनर्गठन आवश्यक छ,’ उनले भने, ‘पार्टी जीवनमा यो सबैभन्दा ठूलो पराजय हो। कार्यकर्तामा चरम निराशा छ।’
पोखरेलले पार्टी रूपान्तरण र शुद्धीकरणको आवश्यकता औँल्याउँदै एमालेले आफ्नो परम्परागत जनाधार गुमाएको स्वीकार गरे। भूमिहीन, श्रमिक, किसान, विद्यार्थी, शिक्षक तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत पार्टीमाथिको विश्वास गुमाएको उनको भनाइ थियो।
‘हामीले लक्षित गरेको वर्ग नै हामीसँग रहेन। किसान आन्दोलनबाट हुर्किएको पार्टीलाई किसानले विश्वास गरेनन्। विद्यार्थी, शिक्षक र श्रमिक वर्ग पनि टाढिए। उत्पीडित वर्गको नेतृत्व युट्युबरले गर्न थाले,’ उनले भने।
