`

रहेनन् अभिनेता सुनिल आनन्द

Nepal One HD १३ साउन २०८३ १२:३०
चलचित्र

काठमाडौं। बलिउडका सदाबहार अभिनेता देव आनन्दका छोरा, अभिनेता तथा फिल्म निर्माता सुनिल आनन्दको लण्डनमा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको २६ जुलाईमा हृदयघातका कारण निधन भएको हो।

विशेष संयोग के छ भने सुनिल आनन्दको निधन त्यही लण्डनस्थित अस्पतालमा भएको बताइएको छ, जहाँ सन् २०११ मा उनका पिता देव आनन्दले अन्तिम सास फेरेका थिए।

सुनिल आनन्दको जन्म ३० जुन १९५६ मा स्विट्जरल्यान्डको ज्युरिखमा भएको थियो। उनले अमेरिकाको वासिङ्टन डी.सी.स्थित अमेरिकन युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) अध्ययन गरेका थिए। त्यसपछि हङकङमा मार्सल आर्ट्सको प्रशिक्षण लिएर उनी पिताको प्रेरणामा चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए।

उनले सन् १९८४ मा प्रदर्शन भएको फिल्म आनन्द और आनन्द मार्फत अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि कार थिफ (१९८६), मैं तेरे लिए (१९८८) र मास्टर (२००१) जस्ता फिल्ममा अभिनय गरे। यद्यपि, उनका पिता देव आनन्दजस्तो व्यावसायिक सफलता र लोकप्रियता भने उनले हासिल गर्न सकेनन्।

अभिनयमा अपेक्षित सफलता नपाएपछि सुनिलले निर्देशनतर्फ पनि यात्रा थाले। उनले सन् २००१ मा मार्सल आर्ट्समा आधारित फिल्म मास्टर निर्देशन गरेका थिए, जसमा उनले अभिनयसमेत गरेका थिए। सन् २०१४ मा उनले वागाटोर मिक्सर नामक हलिउड परियोजनामा पनि काम सुरु गरेका थिए।

सुनिल आनन्दले आफ्नो परिवारको चर्चित फिल्म निर्माण संस्था नवकेतन फिल्म्सको व्यवस्थापन र जिम्मेवारी पनि सम्हाल्दै आएका थिए।

देव आनन्दका निकट मित्र मोहन चुडीवालाले भारतीय सञ्चारमाध्यमलाई सुनिल आनन्दको निधनको पुष्टि गरेका छन्। उनको निधनसँगै देव आनन्द परिवारका अर्को पुस्ताका प्रतिनिधि कलाकारको यात्रा पनि अन्त्य भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *