सप्तरीमा कर्फ्यु हट्यो
सप्तरी। सप्तरीमा जारी कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा कर्फ्यु हटाउँदै अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार दुवै नगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा लागू गरिएको जानकारी दिएका छन्।
निषेधाज्ञा अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा जारी गरेको जनाएको छ।
राजविराजमा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी थलही, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र निषेधाज्ञा क्षेत्रमा समेटिएको छ।
त्यस्तै, बोदेबरसाइनमा पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।
प्रशासनले पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न निषेधाज्ञा जारी गर्नुपरेको जनाएको छ। सर्वसाधारणलाई संयमित रहन तथा प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिएको छ।
निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म कायम रहने प्रशासनले स्पष्ट पारेको छ।
