हिन्दु सम्राट सेनामाथि हर्क साम्पाङको प्रहार, ‘सेना गठन कसले कसले गर्न पाउने हो?’
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भइरहेको विरोधप्रति असहमति जनाउँदै त्यस विषयमा राजनीतिक रूपमा छलफल हुनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीले आफ्नो धारणा राखेपछि त्यसलाई सच्याउन दबाब सिर्जना गर्नुको सट्टा संसद् र राजनीतिक दलबीच संवाद हुनुपर्ने धारणा व्यक्त गरे।
प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीले कुनै विषयमा धारणा सार्वजनिक गर्दा त्यसबारे संसद् र राजनीतिक दलबीच खुला छलफल हुनुपर्ने बताए। उनले ‘प्रधानमन्त्रीले हामी यसो गरौँ भन्नुभएको छ भने त्यसबारे छलफल हुनुपर्ने होइन र?’ भन्दै संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिए।
साम्पाङले सांसदहरूको स्वतन्त्र आवतजावत र राजनीतिक गतिविधिको अधिकार सुनिश्चित गर्न राज्य असफल भएको आरोप पनि लगाए। उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचित जनप्रतिनिधिलाई निर्वाध रूपमा हिँडडुल गर्न नदिने अवस्था स्वीकार्य हुन नसक्ने बताए।
जनकपुरमा आफ्ना कार्यकर्तामाथि कुटपिट भएको दाबी गर्दै उनले दोषीमाथि कानुनी कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाए। ‘यो कानुनी राज्य हो कि जंगली राज्य? मेरो घरमा नआइजा भनेजस्तो अवस्था देखिएको छ,’ भन्दै उनले राज्यको शान्ति-सुरक्षा व्यवस्थामाथि प्रश्न उठाए।
साम्पाङले गृहमन्त्रीले वार्ता गरेको भनिएको ‘हिन्दु सम्राट सेना’बारे पनि स्पष्ट जानकारी दिन सरकारसँग माग गरे। उनले उक्त संगठनको कानुनी हैसियत, गठनको आधार र त्यस्तो नाममा ‘सेना’ गठन गर्न मिल्ने कानुनी मापदण्ड के हो भन्नेबारे सरकार स्पष्ट हुनुपर्ने बताए। ‘सेना गठन गर्ने मापदण्ड के हो? कसले सेना गठन गर्न पाउँछ?’ भन्ने प्रश्न गर्दै उनले सरकारले यसबारे संसद्लाई जवाफ दिनुपर्ने माग गरे।
सुनसरी घटनाको प्रसंग उठाउँदै साम्पाङले सम्भावित जोखिमबारे सरकारलाई पहिल्यै जानकारी हुँदाहुँदै पनि आवश्यक सावधानी नअपनाएको आरोप लगाए।
