`

काठमाडौंको बनस्थली चोकमा नै खुल्यो डीडीसीको नयाँ शाखा, उद्घाटनकै दिन भयो चहलपहल

Nepal One HD २४ साउन २०८३ ८:३८
अर्थ समाचार

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको प्रवर्द्धन गर्दै युवा व्यवसायी तथा उद्यमीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहित गरिरहेका बेला काठमाडौंको बनस्थलीमा डिडिसीको नयाँ आउटलेट सञ्चालनमा आएको छ। युवा उद्यमी अमिर तिमिल्सिनाले डिडिसीका विभिन्न दुग्धजन्य उत्पादन बिक्री गर्ने गरी बनस्थलीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएका हुन्। डीडीसीको आठौँ शाखाका रूपमा सञ्चालनमा आएको उक्त आउटलेटको उद्घाटन डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले गरेका थिए।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत डिडिसीका उत्पादनको प्रचारप्रसार गर्दै सरकारी स्वामित्वको संस्थानलाई बजारमा स्थापित गर्नुपर्ने र युवा उद्यमीहरूले स्वदेशमै लगानी गर्नुपर्ने विषयमा जोड दिँदै आएका छन्। त्यसबाट आफू प्रभावित भएको बताउँदै उद्यमी तिमिल्सिनाले डिडिसीको ब्रान्डसँग जोडिएर व्यवसाय सुरु गरेको बताएका छन्।

आउटलेट सञ्चालनको पहिलो दिन नै डिडिसीका विभिन्न उत्पादन खरिद गर्ने उपभोक्ताको उल्लेख्य चहलपहल देखिएको थियो। पछिल्लो समय डिडिसीका दुग्धजन्य उत्पादनप्रति उपभोक्ताको चासो बढिरहेका बेला नयाँ आउटलेट सञ्चालनमा आएसँगै बनस्थली क्षेत्रका उपभोक्तालाई समेत सहज हुने अपेक्षा गरिएको छ। सिद्धार्थ बनस्थली स्कुलको पारिपट्टि सञ्चालनमा ल्याइएको आउटलेटमा डिडिसीबाट उत्पादित विभिन्न दुग्धजन्य सामग्री उपलब्ध हुने जनाइएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले ठूलो जनघनत्व रहेको बनस्थली चोकमा उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिएको बताए। उनले साउन महिनाभर नयाँ अवधारणा र नयाँ मोडेलमार्फत सेवा प्रवाह गर्ने तयारी रहेको जानकारी दिए। पाण्डेका अनुसार उपभोक्तालाई सहज र प्रभावकारी रूपमा डिडिसीका उत्पादन उपलब्ध गराउने उद्देश्यले आउटलेट विस्तारलाई प्राथमिकता दिइएको छ। युवा उद्यमीहरूलाई डीडीसीको व्यवसायसँग जोड्दै उत्पादनको बजार विस्तार गर्ने अभियानअन्तर्गत नयाँ आउटलेट सञ्चालनमा ल्याइएको डिडिसीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *