`

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

Nepal One HD २४ साउन २०८३ १०:०४
अर्थ समाचार

इलाम। माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पार्नुभयो ।
अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) रु चार हजार ५०० का दरले बिक्री गर्नुभएको हो । “गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उहाँले भन्नुभयो ।

पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गर्नुभएका उहाँले २० मन बीउ राखेर बाँकी बेच्नुभयो । उहाँले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोप्नुभएको छ । उहाँले भन्नुभयो, “पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाख बढी आम्दानी गर्नेछु ।”

माङसेबुङ–२ का अर्का किसान राजकुमार राईले गत वर्ष अदुवा बेचेर रु दुई लाख बढी आम्दानी गर्नुभयो । पचास मन अदुवा रु चार हजारका दरले बेच्नुभएका उहाँले यस वर्ष २० मन रोप्नुभएको छ । यस वर्ष आम्दानी बढाउने उहाँको लक्ष्य छ । “परिवारको घरखर्च र छोराछोरीको पढाइ खर्च अदुवाको आम्दानीले नै धान्ने गरेको छ,” उहाँले भन्नुभयो, “यस वर्षदेखि खेती बढाएकाले आउँदो वर्षदेखि केही रकम बचत हुनसक्छ ।”

माङसेबुङ–३ का किसान तेजु राईले यस वर्ष ६० मन अदुवा रोप्नुभएको छ । दश रोपनीमा व्यावसायिक खेती थाल्नुभएका उहाँले यसअघि १० मन बीउ माटोमा उपयोग गर्नुभएको थियो ।

जिल्लाका किसान अदुवाप्रति आकर्षित भएकाले आफू पनि व्यावसायिक खेतीतर्फ अग्रसर भएको उहाँ बताउनुहुन्छ । आकर्षक आम्दानीका कारण धान र अन्य खेती छाडेर किसान अदुवाखेतीमा लागेका उहाँको कथन छ ।

उत्पादनका बेला प्रतिमन रु चार हजार ५०० सम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन रु सात हजारसम्म पुगेको छ । बच्चा र माउको मनासिव मूल्य पाएपछि किसानहरु अदुवाखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

माउ अदुवा झापाको धुलाबारीमा अहिले प्रतिमन रु सात हजारसम्म बिक्री हुने गरेको छ भने इलाममा छ हजारमा किनबेच भइरहेको स्थानीय व्यापारी राम जवेगूले बताउनुभयो । “ उहाँले भन्नुभयो, “बच्चाबाट छुट्टै र माउबाट छुट्टै आम्दानी हुने भएकाले किसानलाई दोहोरो फाइदा छ ।”

यहाँका किसानले ठूलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवाखेती गर्दै आएका छन् । भदौसम्म माउ अदुवाको बिक्री हुने अदुवाको मुख्य उत्पादन कात्तिकदेखि जेठसम्म हुन्छ ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र इलाम बजारका साथै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी, हर्कटेलगायत बजारमा यहाँको अदुवा खपत हुने गरेको छ । केन्द्रका अनुसार इलाममा तीन हजार २२१ हेक्टर क्षेत्रमा व्यावसायिक अदुवाखेती हुँदै आएको छ । गत वर्ष यहाँ ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *