काठमाडौं घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन सम्पन्न
काठमाडौं–काठमाडौं विश्वविद्यालयसँग आबद्ध नेसनल कलेजमा आयोजित पहिलो अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन (आइक्याप २०२६) काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले मनोवैज्ञानिक अभ्यासलाई उपचार–केन्द्रित दृष्टिकोणबाट रोकथाम–केन्द्रित मोडेलमा रूपान्तरण गर्ने ऐतिहासिक प्रतिबद्धता जनाएको छ।
हाइब्रिड (प्रत्यक्ष र अनलाइन) रूपमा आयोजित तीनदिने सम्मेलनमा संयुक्त राज्य अमेरिका, क्यानडा, भारत, श्रीलंका, बंगलादेश, थाइल्याण्ड, भियतनाम, मलेसिया, अर्जेन्टिना, मेक्सिको, स्पेनलगायत २२ देशका २ सय ४५ जना सहभागी भएका थिए।
समापन सत्रमा आइक्याप २०२६ का कन्फेरेन्स सचिव डा. नरेन्द्र सिंह ठगुन्नाले सम्मेलनको काठमाडौं घोषणापत्रका मुख्य बुँदा प्रस्तुत गरेका थिए। उनका अनुसार विश्वविद्यालय, मनोविज्ञानको क्षेत्रमा कार्यरत व्यक्ति र समुदायलाई जोड्न अन्तर्राष्ट्रिय सञ्जाल तथा साझेदारी बलियो बनाउने, विशेषगरी नेपाल र दक्षिण एसियालाई विश्वव्यापी मनोविज्ञान समुदायसँग जोड्ने विषय घोषणापत्रमा समेटिएको छ।
त्यसैगरी व्यावहारिक तथा रोकथामात्मक मनोविज्ञानलाई शैक्षिक पाठ्यक्रममा एकीकृत गर्ने, सिद्धान्तलाई व्यावहारिक तथा समुदायमा आधारित शिक्षा र इन्टर्नशिपसँग जोड्ने विषयमा पनि सम्मेलनले जोड दिएको छ। ठगुन्नाका अनुसार मनोविज्ञानलाई उपचारबाट रोकथामतर्फ, संस्थानबाट समुदायतर्फ र स्थानीय ज्ञानबाट विश्वव्यापी साझेदारीतर्फ अगाडि बढ्न सम्मेलनले प्रतिबद्धता जनाएको छ।
काठमाडौं विश्वविद्यालयको भाषा तथा जनसञ्चार विभागका प्रमुख प्रा. डा. निर्मल मणि अधिकारीले अन्तर–सांस्कृतिक दृष्टिकोणको महत्त्वमा जोड दिए। उनले विभिन्न सांस्कृतिक ढाँचामा मनोवैज्ञानिक विकारलाई फरक–फरक रूपमा बुझ्न सकिने भन्दै आधुनिक मनोवैज्ञानिक अभ्यासमा अनेक विसंगति रहेको बताए।
उनले धेरै स्थापित मनोवैज्ञानिक दृष्टिकोण अत्यधिक पश्चिमीकृत रहेको उल्लेख गर्दै अहिले शैक्षिक क्षेत्रमा पश्चिममा विकसित चिन्तनमाथि समेत बहस सुरु भएको बताए। उनका अनुसार विभिन्न वैकल्पिक दृष्टिकोणसमेत विस्तारै आउन थालेका छन्।
उद्घाटन सत्रमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले मनोविज्ञानको अन्तर–विषयक विषयवस्तुमाथि प्रकाश पार्दै बेरोजगारी र युवा पलायनलगायत चुनौती सम्बोधन गर्न मनोवैज्ञानिक बुझाइ आवश्यक रहेको बताए।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसका डिन डा. उद्धव प्याकुरेलले सम्मेलन नेसनल कलेज र काठमाडौं विश्वविद्यालयका लागि मात्र नभई नेपालको सम्पूर्ण शैक्षिक समुदायका लागि ऐतिहासिक अवसर भएको बताए। उनले त्यसकारण पनि सम्मेलनको विशेष महत्त्व रहेको उल्लेख गरे।
मुख्य वक्ता प्रा. डा. हृदय रत्न बज्राचार्यले आधुनिक मनोविज्ञान र बौद्ध धर्मबीचको अन्तरसम्बन्धबारे चर्चा गरे। उनका अनुसार बौद्ध दर्शनमा मन नै दुःख र सुख दुवैको मुख्य स्रोत मानिन्छ र मानव व्यवहारलाई जागरूकता तथा अभ्यासमार्फत रूपान्तरण गर्न सकिन्छ। यस अर्थमा बौद्ध दर्शन र मनोविज्ञानबीच अन्तरसम्बन्ध रहेको उनले बताए।
आयोजक नेसनल कलेजका उपप्राचार्य छत्र कार्कीका अनुसार सम्मेलनमा १२ वटा भौतिक र पाँचवटा भर्चुअल सत्र सञ्चालन भएका थिए। ती सत्रमा स्वदेशी तथा विदेशी अनुसन्धाताका गरी जम्मा १ सय ६० वटा शोधपत्र प्रस्तुत गरिएको थियो।
आइक्याप २०२६ का कन्भेनर तथा नेसनल कलेजका प्राचार्य माधवप्रसाद न्यौपानेले सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी सबैलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए।
नेसनल कलेजका अध्यक्ष डा. बद्रीदेव पाण्डेले सम्मेलनको औपचारिक समापन गर्दै सम्मेलनले निक्र्योल गरेका मुख्य निष्कर्ष सहभागीहरूका लागि लाभदायक हुने बताए।
