युवालाई अवसर दिएर देश विकासमा उनीहरूको प्रतिभा उपयोग गर्नुपर्छ – प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलगायत प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका हुन्।
‘नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान सदैव महत्वपूर्ण रहँदै आएको छ,’ प्रचण्डले भनेका छन्, ‘आज प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य छ।’
उनले युवाका लागि पर्याप्त अवसर सिर्जना गर्दै उनीहरूको क्षमता, प्रतिभा र ऊर्जालाई देशको विकासमा उपयोग गर्न सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण युवामा शुभकामना व्यक्त गरेका छन्।
