`

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

Nepal One HD २७ साउन २०८३ १८:४६
समाचार

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निःशुल्क व्यवस्था गरी दुवै जनालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्‍याइएको हो ।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार थुलुङ दूधकोशी गाउँपालिका–७ की ३८ वर्षीया शारदा बस्नेतलाई प्रसूति जटिलता देखिएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित थापाथली प्रसूति गृह लगिएको हो । बस्नेत गत सोमबार जिल्ला अस्पताल फाप्लुमा भर्ना हुनुभएको थियो । उहाँले बुधबार बिहान ७ः०० बजे बच्चा जन्माउनु भए पनि स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाइएको हो ।

“प्रसूति जटिलता देखिएपछि जिल्ला अस्पताल फाप्लुबाट थप उपचारका लागि आमा र शिशु दुवैलाई काठमाडौँ रिफर गरिएको थियो । तत्काल उद्धार आवश्यक देखिएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निःशुल्क व्यवस्था गरी उहाँलाई थापाथली प्रसूति गृह पठाइएको हो,” प्रमुख जिल्ला अधिकारी थापामगरले भन्नुभयो ।

त्यसैगरी यही साउन २६ गते राति आत्महत्याको प्रयास गरेका २९ वर्षीय एक पुरुषलाई समेत जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । उनलाई पनि सोही हेलिकप्टरमार्फत काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको प्रमुख जिल्ला अधिकारी थापामगरले जानकारी दिनुभयो ।

“दुवै जनालाई समयमै उपचार सम्भव हुने स्वास्थ्य संस्थामा पुर्‍याउन सकियो । दुर्गम जिल्लामा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकको उपचारमा ढिलाइ नहोस् भन्ने उद्देश्यले सम्बन्धित निकायसँग तत्काल समन्वय गरी हवाई उद्धारको व्यवस्था मिलाइएको हो,” उहाँले भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *