`

‘हामी काम गर्नकै लागि आएका हौँ, पूर्वाधारका समस्या समाधान गर्छौँ’ : मन्त्री लम्साल

Nepal One HD २९ साउन २०८३ १७:५३
प्रमुख खबर

कैलाली । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।सुदूरपश्चिम प्रदेशमा पूर्वाधार निर्माणको अवस्थाबारे अनुगमनका लागि यहाँ आएका उनले शुक्रबार धनगढीमा नेता तथा कार्यकर्तामाझ पालीका केन्द्रसम्म पक्की र जिल्ला केन्द्रसम्म दुईलेन सडक बनाउने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए। त्यसका लागि सुदूरपश्चिममा ३१४ किलोमिटर सडक निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उनले बताए।

यस्तै, सघन सहरी कार्यक्रमअन्तर्गत सहरी सडक निर्माण तथा मर्मतमा पर्याप्त बजेट रहेको र तीन वर्षमा तीन हजार पुल निर्माण गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिममा पनि विभिन्न योजना कार्यान्वयन गरिने उनले उल्लेख गरे। मन्त्री लम्सालले सुदूरपश्चिममा अत्यावश्यक पूर्वाधार निर्माणका योजना ल्याएर आफूकहाँ आउन आग्रहसमेत गरे।

“मेरो नेतृत्वमा रहेको मन्त्रालय मात्रै होइन सुदूरपश्चिमको विकासका लागि अरु मन्त्रालयअन्तर्गत रहेका योजना कार्यान्वयनका लागिसमेत सहजीकरण गर्न तयार छु । हामी काम गर्नकै लागि आएका छौँ, अत्यावश्यक पूर्वाधरलगायत अन्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छौँ”, मन्त्री लम्सालले भने।

मन्त्री लम्सालले पाँच दिनसम्म सुदूरपश्चिमका सबै जिल्ला तथा क्षेत्रमा रहेका विभिन्न पूर्वाधारको अनुगमन, स्थानीय समस्या पहिचान र समाधानको पहलबारे जानकारी लिने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *