`

‘निरंकुशता स्वीकार गर्दैनौँ, कांग्रेस एकढिक्का हुनुपर्छ’ – शेखर कोइराला

Nepal One HD २९ साउन २०८३ १९:३५
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक गम्भीर संकटमा रहेको दाबी गर्दै राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकढिक्का हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले अहिले देशको अस्तित्व र राष्ट्रियता नै जोखिममा परेको बताए। वर्तमान संकट किन र कसरी उत्पन्न भयो भन्नेबारे गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ।

‘अहिले देशको अवस्था अत्यन्त संकटग्रस्त अवस्थामा छ । देशको अस्तित्व खतरामा छ । देशको राष्ट्रियता खतरामा छ । यो किन भइरहेको छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ।’

कोइरालाले कांग्रेसले विगतदेखि नै सबै पक्षलाई समेटेर अघि बढ्दै आएको उल्लेख गर्दै कुनै पनि प्रकारको निरंकुशता स्वीकार नगर्ने स्पष्ट पारे।

उनले पार्टीभित्र विभाजित मानसिकता देखिए पनि कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताए। देशको हितका लागि कांग्रेस एकढिक्का हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

उनले भने, ‘नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ । मलाई विश्वास छ, नेपाली कांग्रेस एकढिक्का हुन जरुरी छ र हुन्छ भन्ने कुरामा पनि म विश्वस्त छु । देशका निम्ति एकढिक्का हुन जरुरी छ।’
उनले कांग्रेसले अन्य राजनीतिक दल तथा देशका विभिन्न शक्तिसँग मिलेर राष्ट्रियतालाई मजबुत बनाउन सके कांग्रेसको मात्र नभई देशकै भविष्य उज्ज्वल हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *