`

विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन

Nepal One HD ३१ साउन २०८३ २२:२७
समाचार

गण्डकी। नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकास्थित शिशुवा-खुदीखोला र कालिकास्थान-लामेआहाल-पुँडीटार सडक विस्तार तथा स्तरोन्नितको काम सकिएको छ ।

पोखरा-३० को शिशुवा-खुदीखोला चार दशमलव १४ किमी सडक उद्घाटन भइसकेको छ भने पोखरा-३३ मा पर्ने कालिकास्थान-लामेआहाल-पुँडीटार सडक हस्तान्तरण हुन बाँकी छ । आयोजनाअन्तर्गत पोखरा-२७ तालचोकबाट पोखरा-३१ बेगनास जोड्ने सडक भने निर्माणाधीन अवस्थामा छ ।

चार लेनको उक्त सडक आगामी कात्तिक मसान्तसम्ममा सक्ने गरी अन्तिम पटकलाई म्याद थप गरिएको आयोजनाका स्रोतव्यक्ति इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो । सङ्घ सरकारको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा उक्त आयोजना सञ्चालनमा काम भइरहेको उहाँको भनाइ छ ।

विश्व बैंकको रु ४८ करोड ९६ लाख ३५ हजार २५४ आर्थिक सहयोगमा शिशुवा-खुदीखोला सडक निर्माण भएको हो । नालीसहित १५ मिटरमा दुई लेन सडक, एक दशमलव पाँच मिटर साइकल लेन र दुई दशमलव पाँच मिटर फुटपाथ ट्रयाक रहेको इन्जिनियर गौतमले बताउनुभयो । आशिष निर्माण सेवाले विसं २०८१ वैशाख २ गते निर्माण सम्झौता गरी निर्धारित समयमै सडकको काम सकेको उहाँको भनाइ छ ।

कालिकास्थान-लामेआहाल-पुँडीटार सडक निर्माण पनि गत असारमै पूरा भएको उहाँले बताउनुभयो । पोखरा भित्रिने वैकल्पिक सडकका रूपमा हेरिएको उक्त सडकको दूरी १२ दशमलव ४४ किमी रहेको छ । साइकल ट्रेक र फुटपाथसहित सडक निर्माण गरिएको इन्जिनियर गौतमले बताउनुभयो । आशिष निर्माण सेवाले रु ७७ करोड ६८ लाखमा ठेक्कामा उक्त सडक बनाएको हो ।

पोखरा-३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले छिटपुटबाहेक सडक निर्माण सकिएको बताउनुभयो । सडक उद्घाटन भने भइसकेको छैन । सडकको दायाँबायाँ तीन मिटरमा फलफूलका बिरुवा रोप्ने योजना रहेको वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । तनहुँको कोत्रे हुँदै बाघमारा भएर पोखरा भित्रिने वैकल्पिक मार्गका रूपमा यो सडकलाई विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

सडक स्तरोन्नति भएसँगै आवतजावत तथा स्थानीय उत्पादनको बजारीकरणमा पनि महत्वपूर्ण टेवा विश्वास लिइएको छ । साविक भरतपोखरी गाउँ विकास समिति रहेको यस क्षेत्र पोखरा महानगरपालिकामा गाभिए पनि अपेक्षित रूपमा विकास हुन नसकेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । महानगरभित्रका ग्रामीण र विकासमा पछाडि पारिएका वडालाई बजेट तथा कार्यक्रममा प्राथमिकता दिन महानगरको नेतृत्वससँग पहल भइरहेको उहाँको भनाइ छ ।

निर्माणमा ढिलासुस्ती भइरहेको तालचोक-बेगनास सडकलाई थपिएको म्यादभित्र काम सक्न महानगरले ताकेता गरिरहेको महानगरप्रमुख धनराज आचार्यले बताउनुभयो । उक्त सडकमा देखिएको जग्गाको मापदण्डलगायत विवाद समाधान भइसकेकाले अब निर्माणले गति लिने उहाँले विश्वास व्यक्त गर्नुभयो । “सडकको काम पूरा गर्न निर्माण कम्पनीलाई समयसीमा दिएका छौँ । समयमै काम सकिनेमा हामी विश्वस्त छौँ”, प्रमुख आचाार्यले भन्नुभयो ।

विसं २०७९ चैतदेखि निर्माण थालिएको तालचोक-बेगनास सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमा बन्न नसकेको हो । तीन दशमलव २८ किमीको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द-सपना-वर्ल्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माण सुरु भएको थियो ।

रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटसहित रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले जानकारी दिनुभयो । फुटपाथ ट्रयाक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नुमना सडक बन्ने उहाँको भनाइ छ ।

सडक छेउछाउमा बगैँचा, यात्रु प्रतिक्षालयसहित आकर्षक पूर्वाधार बनाइने बताउँदै उहाँले सडकमा तीन वटा पुल निर्माणाधीन अवस्थामा रहेका जानकारी दिनुभयो । अहिले सडक विस्तार, फुटपाथ, कल्भर्ट, नाला र पर्खाल निर्माण भइरहेको छ ।

पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । महानगरको गौरवको आयोजनाका रूपमा तालचोक-बेगनास सडक विस्तार एवं स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो । पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण सुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *