`

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

Nepal One HD ३ भदौ २०८३ १९:३०
समाचार

झापा । एक वर्षमा रु १४ करोड ६ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ। काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो।

भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई रु दुई करोड ६६ लाख ६४ हजार र बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा रु छ करोड ५६ लाख ३५ हजार आम्दानी भएको पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले बताए।

नेपाली जडीबुटीको परम्परागत बजार भारत हो । पछिल्लो समय बङ्गलादेशतर्फ रिठ्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसीलगायतका जडीबुटीको निकासी बढेको छ।

यस अवधिमा बङ्गलादेशतर्फ १८७ मेट्रिक टन रिठ्ठा (रु दुई करोड तीन लाख ८६ हजार), ४० मेट्रिक टन क्यानोला तेल (रु एक करोड २८ लाख ३६ हजार) र पाँच मेट्रिक टन सतावर (रु ९४ लाख ५६ हजार) निर्यात भएको छ।

कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र सतावरले निकै राम्रो बजार मूल्य पाएका छन्। १२ मेट्रिक टन पदमचालबाट रु ९४ लाख ८८ हजार र पाँच मेट्रिक टन जटामसीबाट रु ६३ लाख ८० हजार आम्दानी भएको छ।

यसबाहेक २६ मेट्रिक टन चुत्रो (रु ११ लाख ४१ हजार), २२ मेट्रिक टन नागबेली पाउडर (रु १० लाख १८ हजार), आठ मेट्रिक टन अमला (रु आठ लाख ६७ हजार) र दुई मेट्रिक टन टिमुर (रु आठ लाख) निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ।

स्वदेशी जडीबुटीको प्रशोधन र बजारीकरणमा सरकारी तवरबाट थप सहजीकरण हुन सके पूर्वी नाकाबाट जडीबुटी निर्यात अझै बढाउन सकिने सरोकारवालाहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *