`

१० वर्षमा सर्पदंशबाट ३०१ जनाको मृत्यु, २३ जिल्ला उच्च जोखिममा

Nepal One HD ४ भदौ २०८३ १४:४२
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नेपालमा पछिल्लो एक दशकमा सर्पदंशका कारण ३०१ जनाको मृत्यु भएको छ ।

२०७३ देखि २०८३ असार मसान्तसम्म देशभर सर्पदंशका १ हजार ६७८ घटना अभिलेखमा आएका छन् । ती घटनामा १ हजार ४०१ जना घाइते भएका छन् ।

सर्पदंशबाट मृत्यु हुनेमध्ये ४२ प्रतिशत महिला र करिब २२ प्रतिशत बालबालिका रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको ‘सर्पदंश रोकथाम तथा नियन्त्रणसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ मा उल्लेख छ ।

कार्ययोजनाले उपचारका लागि स्वास्थ्य संस्था पुग्न हुने ढिलाइ, झारफुक तथा अन्धविश्वासमा आधारित उपचार, एन्टीभेनमको सीमित उपलब्धता, दक्ष जनशक्तिको अभाव र आपत्कालीन उद्धारमा हुने ढिलाइलाई सर्पदंशबाट हुने मृत्युको प्रमुख कारण मानेको छ ।

कार्ययोजनाले मधेस प्रदेशका सबै आठ जिल्ला सर्पदंशको उच्च जोखिममा रहेको जनाएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जोखिमयुक्त जिल्लाको सूचीमा छन् ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी, बागमतीको चितवन तथा गण्डकीको नवलपरासी (बर्दघाट सुस्तापूर्व) पनि उच्च जोखिममा छन् ।

लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, रूपन्देही, बाँके, बर्दिया, पाल्पा र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरलाई पनि सर्पदंशको अति जोखिमयुक्त जिल्लाका रूपमा पहिचान गरिएको छ ।

वन विनाश, अव्यवस्थित सहरीकरण, कृषियोग्य जमिनको अतिक्रमण, जलवायु परिवर्तन र जैविक विविधतामा आएको परिवर्तनका कारण मानिस र सर्पबीचको सम्पर्क बढिरहेको कार्ययोजनाले जनाएको छ ।

त्यसैले सर्पदंशलाई स्वास्थ्य समस्याका रूपमा मात्र नभई विपद् व्यवस्थापन, वातावरण संरक्षण, जलवायु अनुकूलन र जनचेतनासँग जोडेर सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

सर्पदंशबाट हुने मृत्यु, अशक्तता तथा सामाजिक–आर्थिक क्षति घटाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको कार्ययोजनामा उल्लेख छ ।

सर्पदंशबाट जोगिन राति हिँड्दा टर्च वा अन्य उज्यालो बत्ती प्रयोग गर्न, झाडी तथा अँध्यारा ठाउँमा जाँदा जुत्ता र शरीर ढाक्ने कपडा लगाउन तथा घरवरपर सफा राख्न आग्रह गरिएको छ ।

सर्पले टोकेमा आत्तिन नहुने र टोकेको अंगलाई सकेसम्म नचलाइ तत्काल नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्‍याउनुपर्ने सुझाव दिइएको छ ।

घाउ चिर्ने, मुखले विष चुस्ने, कस्सेर बाँध्ने, धामीझाँक्रीकहाँ लैजाने, जडीबुटी लगाउने वा हिउँ राख्नेजस्ता अभ्यास नगर्न पनि आग्रह गरिएको छ ।

सर्प देखिएमा जिस्क्याउने वा समात्ने प्रयास नगरी सुरक्षित दूरी कायम गर्न कार्ययोजनाले सुझाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *