राजेन्द्र लिङ्देन र कमल थापाले अमेरिकी डलर लिएको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति बैठकमा झण्डै हात हालाहाल हुने गरी विवाद चर्किएको छ। बैठकमा राप्रपाका नेताहरूले विदेशी नागरिकबाट डलर लिएको भन्ने सूचना प्रस्तुत भएको थियो। विदेशी रकम भित्रिएको विषयलाई बैठकमा कसैले खण्डन गरेनन्।
चर्को आरोप-प्रत्यारोपबीच राप्रपामा अमेरिकी डलर भित्रिएको भन्ने कार्यसम्पादन समितिको बैठकमा गरिएको दाबी यदि झुटो होइन भने, नेपालको राजनीतिक दलले विदेशी नागरिकसँग विदेशी रकम बुझेको अवस्था गैरसंवैधानिक र गैरकानुनी मात्र नभएर अनैतिकसमेत हो। स्मरण रहोस्, कार्यसम्पादन समिति राप्रपामा महाधिवेशनपछिको सबैभन्दा शीर्ष समिति हो।
आफूलाई राष्ट्रवादी बताउने र भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह हो भनेर कसम खाने अध्यक्ष भएको राप्रपामा विदेशी पैसा भित्रिएको अवस्था पूर्ण रूपमा नैतिकता र राजनीतिक धर्मविपरीत छ।
बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने विषयमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वअध्यक्ष कमल थापा र प्रेम श्रेष्ठबीच ठूलो विवाद चर्किएको थियो। व्यक्तिगत तहमा उत्रिएर नेताहरूबीच चर्को आरोप–प्रत्यारोप हुँदा झण्डै हात हालाहालको स्थिति पैदा भयो।
कमल थापाले उद्धव थापालाई कारबाही गर्न नहुने बताएपछि प्रेम श्रेष्ठले प्रतिवाद गरे। यही क्रममा लिङदेन, थापा र श्रेष्ठबीच विवाद बढ्दै जाँदा बैठकमा ठूलो होहल्ला भयो। यही विवादबीच कमल थापाले प्रेम श्रेष्ठलाई ‘तपाईं विदेशी नागरिक भएकाले बैठकमा नबोल्नुहोस्’ भने। त्यसको जवाफमा श्रेष्ठले भने, ‘म विदेशी हुँ भने मलाई किन पार्टीमा जिम्मेवार पदमा राखेको र किन डलर लिएको?’
कमल थापा अध्यक्ष छँदा प्रेम श्रेष्ठलाई केन्द्रीय पदाधिकारीको जिम्मेवारी दिइएको थियो भने राजेन्द्र लिङदेनले श्रेष्ठलाई कार्यसम्पादन समितिको सदस्य बनाएका छन्।
