`

सप्तकोशी कटान नियन्त्रणका लागि तत्काल पहल गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

Nepal One HD ७ भदौ २०८३ ७:४१
प्रमुख खबर

सुनसरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको कटानबाट हुने क्षति रोक्न तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार वराहक्षेत्र मन्दिरको स्थलगत अवलोकनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले कोशी कटान नियन्त्रणका लागि तत्काल आवश्यक काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नदी कटानको दीर्घकालीन नियन्त्रणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार काम गरिने उनले उल्लेख गरे । वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले कोशी नदीको निरन्तर कटान र बाढीजन्य जोखिमका कारण बराहक्षेत्र मन्दिर क्षेत्रका धार्मिक तथा ऐतिहासिक संरचना जोखिममा परेको भन्दै मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा चतरा हुँदै वराहक्षेत्र मन्दिर पुग्ने सडक साँघुरो हुनुका साथै वर्षायाममा पहिरोका कारण पटकपटक अवरुद्ध हुँदा तीर्थयात्रीलाई समस्या हुने भएकाले सडक स्तरोन्नति गर्न माग गरिएको छ । धार्मिक क्षेत्रको संरक्षण र स्थानीय जनजीविकासँग जोडिएका समस्यालाई राष्ट्रिय प्राथमिकतामा राख्नसमेत ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

यसअघि मन्त्री श्रेष्ठले भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला, भोक्राहा नरसिंहको सवस्टेसन, चतरा जलविद्युत् केन्द्र तथा सुनसरी–मोरङ सिँचाइ आयोजना न्यूइन्टेकको समेत स्थलगत अनुगमन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *