`

रोबोटले तोड्यो बोल्टको १०० मिटर दौडको रेकर्ड

Nepal One HD ७ भदौ २०८३ १५:०६
खेलकुद

काठमाडौं। चीनको बेइजिङस्थित ‘आइस रिबन’ स्टेडियममा जारी दोस्रो विश्व ह्युमनोइड रोबोट खेलमा चिनियाँ ह्युमनोइड रोबोटले १०० मिटर दौडमा मानव विश्व रेकर्ड तोडेको छ ।

शनिबार साँझ भएको प्रारम्भिक दौडमा तियानझुओ टोलीले विकास गरेको ह्युमनोइड रोबोटले ९.३९ सेकेन्डमा १०० मिटर दूरी पार गरेको हो । यसअघि जमैकाका धावक उसेन बोल्टले सन् २००९ मा ९.५८ सेकेन्डमा १०० मिटर पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका थिए ।

बन्दुकको आवाजसँगै सुरु भएको दौडमा तीन ह्युमनोइड रोबोट सहभागी थिए । सुरुदेखि नै तीव्र प्रतिस्पर्धा देखिएको दौडमा तियानझुओको रोबोटले एक शरीरको लम्बाइ बराबरको अन्तरले पहिलो स्थान हासिल गरेको थियो ।

गत वर्ष यही विधामा रोबोटले बनाएको उत्कृष्ट समय २१.५० सेकेन्ड थियो । यसपटक भने उक्त समयभन्दा निकै तीव्र गतिमा दौड पूरा भएको हो ।

रोबोटहरूले दौडमा मात्र नभई अन्य खेलमा समेत मानव कीर्तिमानलाई चुनौती दिएका छन् । हाई जम्पमा एक ह्युमनोइड रोबोटले २.८८ मिटर उचाइ पार गरेको छ । यसले क्युबाका जेभियर सोटोमायरले सन् १९९३ मा बनाएको २.४५ मिटरको मानव विश्व कीर्तिमानलाई समेत उछिनेको छ ।

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी अनरको लाइटनिङ रोबोटले परीक्षणका क्रममा ९.३२ सेकेन्डमा १०० मिटर दौड पूरा गरेको थियो । त्यस्तै, यही वर्ष आयोजित ह्युमनोइड हाफ म्याराथन ५० मिनेट २६ सेकेन्डमा पूरा गरिएको थियो ।

सन् २०२२ को शीतकालीन ओलम्पिकका लागि निर्माण गरिएको राष्ट्रिय स्पिड स्केटिङ ओभलमा भइरहेको प्रतियोगितामा जर्मनी, जापान र अमेरिकासहित १६ देशका सयौँ टोली सहभागी छन् ।

प्रतियोगितामा भारोत्तोलन, टग अफ वार, फुटबल, नृत्य तथा औद्योगिक कार्यसँग सम्बन्धित गरी ५१ भन्दा बढी विधा समावेश छन् ।

मानव आकृतिका रोबोटहरू अहिले मुख्यतः प्रदर्शन र अनुसन्धानमा प्रयोग भइरहे पनि पछिल्ला उपलब्धिले रोबोटिक्स प्रविधिमा तीव्र विकास भइरहेको देखाएको छ ।

चीनले ह्युमनोइड रोबोटलाई रणनीतिक रूपमा महत्वपूर्ण उदीयमान उद्योगका रूपमा अघि बढाइरहेको छ । चिनियाँ रोबोट निर्माता कम्पनीहरू प्रविधि विकास र बजार विस्तारमा आक्रामक रूपमा अघि बढिरहेका छन् ।

युनिट्रीजस्ता चिनियाँ रोबोट निर्माता कम्पनीको बजार मूल्य तथा सेयरमा पछिल्लो समय देखिएको वृद्धिले पनि ह्युमनोइड रोबोट क्षेत्रमा लगानीकर्ताको आकर्षण बढिरहेको संकेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *