`

प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित

Nepal One HD ७ भदौ २०८३ २०:१०
प्रमुख खबर

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणले मुस्ताङवासी उत्साहित भएका छन्। उनको मुस्ताङ भ्रमणले यहाँको चर्चा चुलिएको छ। यसअघि तत्कालिन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ आएकी थिइन्। तर उनी काठमाडौँबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकाेप्टरबाट सिधै मुक्तिनाथ क्षेत्र आएकी थिइन्।

प्रधानमन्त्री शाह भने बर्खायामको मौसममा समेत बेनी–जोमसोम सडकखण्डको सास्ती व्यहोर्दै आफैँले सवारीसाधन हाँकेर शनिबार मुस्ताङको जोमसोम आइपुगेका हुन्। सोही दिन साँझ प्रधानमन्त्री शाहले मुक्तिनाथको दर्शन गरी जोमसोममा बास बसे । प्रधानमन्त्री शाह आज मुस्ताङबाट काठमाडौँतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबाट यहाँको पर्यटन क्षेत्रमा ठुलो उभार आउने अपेक्षा गरिएको छ। मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले प्रधानमन्त्री शाहको मुस्ताङ आगमनले यस क्षेत्रको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने बताए।

“प्रधानमन्त्री जहाँ जानु हुन्छ, त्यसक्षेत्रको पर्यटन क्षेत्रको चर्चा निकै चुलिएको छ”, उनले भने, “उहाँको मुक्तिनाथ दर्शनसहितको मुस्ताङ भ्रमणले यहाँको धार्मिक पर्यटन क्षेत्रलाई थप चलायमान बनाएको छ ।”

प्रधानमन्त्री शाहले मुक्तिनाथको दर्शन गरेर पवित्र धार्मिकस्थल मुक्तिनाथको धार्मिक आस्था, विश्वास र गरिमालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म सन्देश प्रवाह गर्नुभएको अध्यक्ष लालचनले बताए। प्रधानमन्त्रीको पहिलो स्वदेश भ्रमण मुस्ताङबाटै सुरु भएको र त्यो पनि सडकमार्गबाटै भएकाले सडक पूर्वाधार विकासतर्फ पनि उहाँको ध्यान जानेमा आफू आशावादी बनेको उनले उल्लेख गरे।

“राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग अस्तव्यस्त छ, प्रधानमन्त्रीले यसको प्रत्यक्ष अनुभव गर्नुभयो”, अध्यक्ष लालचनले भने, “बेनी–जोमसोम सडकको स्तरोन्नति आवश्यक छ, यहाँ संसारभरीका नागरिक घुम्न आउँछन् ।”

अध्यक्ष लालचनले कोरला नाका हुँदै तिब्बतको कैलाश मानसरोवर धार्मिक तीर्थाटनका लागि सो नाकामा अध्यागमन कार्यालयलाई सक्रिय बनाएर राहदानीको समेत सुविधा हुनसके मुस्ताङको पर्यटन क्षेत्रमा कायापलट हुने बताए। उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकका लागि पनि नेपाली नागरिक जस्तै अर्थनिषेधित क्षेत्रलाई फुकुवा गर्न सकेमा भारत, नेपाल र चीनबीच त्रिदेशीय पर्यटनमार्ग थप सहज हुने अध्यक्ष लालचनको भनाइ छ।

प्रधानमन्त्री शाहको भ्रमणले मुस्ताङको पर्यटन क्षेत्रले थप फड्को मार्ने मुक्तिनाथ होटल एशोसियसनका अध्यक्ष सुरज गुरुङले उल्लेख गरे। प्रधानमन्त्रीको मुस्ताङ भ्रमण हुन यहाँका पर्यटन व्यवसायीका लागि ठुलो अवसर भएको उनको भनाइ छ । प्रधानमन्त्री शाहबाट मुक्तिनाथको दर्शनले धार्मिक आस्था र यस क्षेत्रको महत्वलाई थप उजागर गर्न सफल भएको एशोसिएनका अध्यक्ष गुरुङले बताए।

मुस्ताङको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सन् २०१८ को मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीको उक्त भ्रमणपछि मुक्तिनाथ मन्दिरमा भारतीय दर्शनार्थीको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको अध्यक्ष गुरुङले बताए।

भारतीय प्रधानमन्त्री मोदीपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुक्तिनाथ मन्दिरको दर्शन गरेकी थिइन्। यसपटक प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण र मुक्तिनाथको दर्शनले यसक्षेत्रको धार्मिक पर्यटनका क्षेत्रमा नयाँ आयाम थपिने विश्वास गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *