आरक्ष विस्थापितका नाममा थप राजनीति नगर्न मन्त्री प्रतिभा रावलको आग्रह
कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताएकी छिन् ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा शुक्लाफाँटा आरक्षबाट विस्थापितको भेलालाई सम्बोधन गर्दै उनले पीडितको मागअनुसार सरकारले आयोग गठन गरी समस्या समाधान गर्ने बताएकी हुन्। “आरक्ष विस्थापितको समस्या समाधानका लागि तपाईँहरूका मागअनुसार एकडेढ साताभित्रै आयोग गठन हुँदैछ”, मन्त्री रावलले भनिन्, “उक्त आयोगले समस्या समाधानको निकास निकाल्ने छ ।”
समस्या समाधानको प्रक्रिया अघि बढिसकेकाले धैर्य गरेर बस्न आग्रह गर्दै उहाँले अब माग लिएर काठमाडौँ धाउन नपर्ने बताइन्। “सरकार समाधानको बाटोमा अघि बढिसकेको छ, आयोगलाई काम गर्न सहयोग गर्नुहोस्”, उनले भनिन् ।
आरक्ष विस्थापितका नाममा थप राजनीति नगर्न आग्रह गर्दै मन्त्री रावलले समस्या समाधानको प्रक्रिया अघि बढिसकेको उल्लेख गरिन् । उनले विस्थापितलाई आन्दोलनका कार्यक्रम अन्त्य गरी आयोगलाई सहयोग गर्न आग्रह गरिन् ।
विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका करिब दुई हजार आरक्षपीडित विभिन्न स्थानमा कष्टकर जीवन बिताउँदै आएका छन् । पीडितले आफूहरूको उचित व्यवस्थापनको माग गर्दै विभिन्न समयमा आन्दोलन गर्दै आएका छन् ।
त्यसैगरी, मन्त्री रावलले कञ्चनपुरका कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका भूमिहीन सुकुमवासीसँग भेट गरी सरकारले लालपुर्जा वितरण गर्ने भएकाले ढुक्क भएर बस्न आग्रह गर्नुभयो । “तपाईँहरूलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनी सुधार पनि भइसकेको छ”, उनले भनिन्, “अब जिल्ला भूमि आयोगले छिटो काम अघि बढाएर तपाईँहरूलाई लालपुर्जा दिनेछ ।”
