भेरी अस्पतालमा एक वर्षमा ८३ जनामा एचआईभी सङ्क्रमण पुष्टि
नेपालगञ्ज। भेरी अस्पताल, नेपालगञ्जमा गत आर्थिक वर्ष २०८२/८३ मा गरिएको एचआईभी परीक्षणका क्रममा ८३ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ।
अस्पतालका अनुसार उक्त अवधिमा ७ हजार ८०५ जनाको एचआईभी परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो। अस्पतालका एचआईभी फोकल पर्सन डा. सङ्केतकुमार रिसालका अनुसार नयाँ पहिचान भएका सबै सङ्क्रमितलाई समयमै एआरटी सेवामा आबद्ध गरिएको छ।
अस्पतालले एचआईभी परीक्षण र उपचारसँगै सङ्क्रमण रोकथाम तथा आमाबाट शिशुमा सङ्क्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सेवा दिइरहेको जनाएको छ। गर्भवती महिलाको नियमित परीक्षणसमेत हुँदै आएको अस्पतालले जनाएको छ।
गत आर्थिक वर्षमा दुई गर्भवती महिलामा एचआईभी सङ्क्रमण पुष्टि भएको थियो। उपचारमा रहेका चार एचआईभी सङ्क्रमित आमाले सुरक्षित रूपमा शिशु जन्माएका थिए। परीक्षण गरिएका ती शिशुमा प्रारम्भिक डिएनए पिसिआर परीक्षणबाट एचआईभी सङ्क्रमण नदेखिएको अस्पतालले जनाएको छ।
नेपाल सरकारले सन् २०१७ देखि लागू गरेको ‘टेस्ट एन्ड ट्रिट’ नीतिअनुसार एचआईभी सङ्क्रमण पुष्टि भएपछि उपचार सुरु गर्न ढिलाइ नगर्ने व्यवस्था छ। सोहीअनुसार भेरी अस्पतालमा नयाँ पहिचान भएका सबै सङ्क्रमितलाई एआरटी सेवामा जोडिएको डा. रिसालले बताए।
भेरी अस्पतालमा एचआईभीका लागि एआरटी सेवा २०६१ साल फागुनदेखि सञ्चालनमा छ। अस्पतालका अनुसार हालसम्म १ हजार ८०० भन्दा बढी व्यक्तिले एआरटी सेवा लिइसकेका छन्। गत आर्थिक वर्षसम्म ६५१ जना नियमित उपचारमा रहेका थिए।
नियमित उपचारमा रहेका सेवाग्राहीमध्ये ९५ प्रतिशतले पछिल्लो १२ महिनामा भाइरल लोड परीक्षण गराएका थिए। परीक्षण गराउनेमध्ये ९९ प्रतिशतको भाइरल लोड नियन्त्रणमा रहेको अस्पतालले जनाएको छ।
एचआईभीसँग बाँचिरहेका व्यक्तिका लागि सरकारले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा पनि भेरी अस्पतालको एआरटी क्लिनिकले ६३१ भन्दा बढी सेवाग्राहीलाई आबद्ध गरिसकेको छ।
अस्पतालबाट एचआईभी परामर्श तथा परीक्षण, एआरटी औषधि, अवसरवादी सङ्क्रमणको उपचार, क्षयरोग तथा यौनजन्य सङ्क्रमणसम्बन्धी सेवा उपलब्ध हुँदै आएको छ।
यद्यपि एचआईभीको ढिलो पहिचान, उपचार सुरु गर्न हुने ढिलाइ, स्वास्थ्य क्षेत्रमा अझै कायम लाञ्छना तथा भेदभाव र बसाइँसराइका कारण उपचार निरन्तरतामा आउने समस्या चुनौतीका रूपमा रहेको डा. रिसालले बताएका छन्।
भेरी अस्पतालको एआरटी क्लिनिकले पछिल्ला तीन आर्थिक वर्षदेखि न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा शतप्रतिशत अंक प्राप्त गर्दै आएको अस्पतालले जनाएको छ।
नयाँ सङ्क्रमितको समयमै पहिचान, तत्काल उपचारमा आबद्धता र उपचारको निरन्तरतामा जोड दिइए पनि एचआईभी नियन्त्रणका लागि परीक्षणको पहुँच विस्तारसँगै सामाजिक लाञ्छना र भेदभाव न्यूनीकरणमा समेत ध्यान दिनुपर्ने देखिएको छ।
