महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास
ललितपुर। नेपाली कांग्रेसले महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलताको प्रवद्र्धन तथा देशको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले यही भदौ ११ गते यहाँ ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
प्रतिष्ठानको उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार सम्मेलनमा विशेषगरी नयाँ व्यवसाय, लघु, साना तथा मझौला उद्यम र साना तथा मझौला उद्यम गरिरहेका महिलाका अनुभव, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङका लागि साझा मञ्चबारे छलफल हुनेछ ।
त्यस अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी पनि गरिनेछ । प्रदर्शनीमार्फत महिला उद्यमीले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर पाउने संयोजक आचार्यले बताए ।
