`

मिटरब्याज पीडितसँगका पुराना सहमति कार्यान्वयन नभए फेरि आन्दोलन हुनसक्ने श्रेष्ठको चेतावनी

Nepal One HD ९ भदौ २०८३ २०:०६
प्रमुख खबर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिलाउन विगतमा भएका सहमति, निर्णय र सम्झौता कार्यान्वयन गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

दिवंगत नेता राजकिशोर मण्डलको श्रद्धाञ्जली सभामा बोल्दै श्रेष्ठले ऋणको नाममा चर्को ब्याज असुल्ने, ऋणभन्दा कैयौँ गुणा बढी रकमको तमसुक बनाउने तथा पीडितको घरजग्गा हडप्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए।

उनले न्यायोचित ब्याजसहित ऋण चुक्ता गरेपछि पीडितलाई तमसुक तथा घरजग्गा फिर्ता गर्ने व्यवस्था सुनिश्चित हुनुपर्नेमा जोड दिए।

‘न्यायोचित ब्याजसहित ऋण तिरेपछि तमसुक र घरजग्गा फिर्ता हुनुपर्छ। ऋण तिर्ने नाममा घरबार उठिबास गराउने र किर्ते कागज बनाउने काम हुनुहुँदैन,’ श्रेष्ठले भने।

श्रेष्ठले आफू सरकारमा रहँदा मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन, कानुन निर्माण तथा सहजीकरण समिति बनाएर केही हजार पीडितलाई न्याय दिलाउने काम गरिएको दाबी गरे।

तर सरकार परिवर्तनसँगै उक्त अभियान रोकिएको र पीडितहरू पुनः आन्दोलनमा आउन बाध्य भएको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *