कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताएकी छिन्।
कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आज यहाँ आयोजित छलफलमा मन्त्री चौधरीले कृषि क्षेत्रमा आधारभूत विषयलाई सरल र किसानमैत्री ढङ्गले बुझाउन आवश्यक रहेको बताइन्।
“कृषि विषय पढेका युवालाई बैंक तथा वित्तीय संस्थामा रोजगारीका अवसर उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ,” मन्त्री चौधरीले भनिन्, “यसले कृषि क्षेत्रका जनशक्तिलाई रोजगारीसँग जोड्नुका साथै बैंकबाट कृषि कर्जा प्रवाह गर्दा कृषि क्षेत्रको वास्तविक आवश्यकता र परियोजनाको मूल्याङ्कन गर्न सहज हुने भएकाले कृषि कर्जा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्छ ।”
मन्त्री चौधरीले कृषि फार्म दर्ता, कर्जा प्राप्ति तथा सहुलियतपूर्ण कर्जाको प्रक्रियामा वास्तविक किसानले सहज रूपमा लाभ लिन नसकेको गुनासो आउने गरेको भन्दै आगामी नीतिमा यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् । उनले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा कर्जा दिने मात्रै नभई किसानले उत्पादन गरेको वस्तुको बजार, सम्भावित उत्पादन र त्यसबाट प्राप्त हुने प्रतिफलसमेत हेर्नुपर्ने बताइन् । उत्पादनपछि बजार व्यवस्थापन र मूल्य शृङ्खलालाई जोडेर कृषि कर्जा प्रवाह गर्ने प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।
मन्त्री चौधरीले कृषि क्षेत्रमा प्रविधिको प्रयोग, मूल्य अभिवृद्धि, जलवायु परिवर्तनका प्रभाव तथा परियोजना निर्माणसम्बन्धी ज्ञानको कमीलाई सम्बोधन गर्न बहुआयामिक रूपमा काम गर्नुपर्ने बताइन् । उनले साना किसानलाई कर्जा प्राप्तिमा देखिएका कागजी तथा धितोसम्बन्धी समस्यालाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै कृषि कर्जालाई वास्तविक किसानसम्म पुर्याउन बैंकिङ तथा वित्तीय साक्षरता ग्रामीण तहसम्म विस्तार गर्नुपर्ने धारणा राखिन्।
