बाढीपीडितको साथमा कलाकार
काठमाडौं। भोटेकोसी नदीमा आएको भीषण बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली कलाकार तथा कलासँग जोडिएका व्यक्तिहरूले सहयोगको हात अघि बढाएका छन्।
कलाकारहरूले सरकारी राहत कोषमा आर्थिक सहयोग गर्नुका साथै प्रभावित परिवारसम्म राहत पुर्याउन विभिन्न माध्यमबाट योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। अभिनेता विराज भट्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार रुपैयाँ प्रदान गरेका छन्।
अभिनेत्री निता ढुङ्गाना तथा गायिका रचना रिमाल र बेनिशा पौडेलले जनही १ लाख रुपैयाँ राहत कोषमा सहयोग गरेका छन्।
अभिनेत्री माल्भिका सुब्बा र निर्माता–वितरक गोविन्द शाहीले ५०–५० हजार रुपैयाँ सहयोग गरेका छन्। निर्माता सुशील पोखरेलले ३३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा प्रदान गरेका छन्।
गायक शिव परियार र गायिका एलिना चौहानले जनही २५ हजार रुपैयाँ तथा लोकगायिका राधिका हमालले २१ हजार रुपैयाँ सहयोग गरेकी छन्। गायक रामकृष्ण ढकालले ११ हजार १११ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्।
अभिनेत्री आँचल शर्मा, मिरुना मगर, ऋचा शर्मा, अनमोल केसी, प्राश्ना शाक्य, गजित विष्टलगायत कलाकारले पनि राहत कोषमा आर्थिक सहयोग गरेका छन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफ्नो आधा महिनाको तलब राहत कोषमा दिने घोषणा गरेका छन्।
मोडल तथा व्यवसायी दीपा सिंखडाले आफ्नो व्यवसायमा रहेको करिब ५० लाख रुपैयाँ मूल्यको कपडामध्ये आधा अर्थात् करिब २५ लाख रुपैयाँ बराबरको कपडा बाढी प्रभावितलाई निःशुल्क वितरण गर्ने घोषणा गरेकी छन्।
स्वास्थ्य अवस्थाका कारण आफू प्रत्यक्ष प्रभावित क्षेत्रमा पुग्न नसक्ने भन्दै उनले आधिकारिक संस्था वा सरकारी संयन्त्रमार्फत राहत सामग्री पुर्याउने बताएकी छन्।
बाढीपछि कलाकारहरूले आर्थिक सहयोगसँगै जनचेतना फैलाउने कामलाई पनि प्राथमिकता दिएका छन्। अभिनेता राजेश हमालले आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेका थिए।
अभिनेता निखिल उप्रेतीले विपद्को सामना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्। अभिनेता प्रदीप खड्काले प्रभावितको जीवन बचाउन हरेक मिनेट महत्त्वपूर्ण रहेको भन्दै उद्धार तथा राहतमा तत्काल सक्रिय हुन अपिल गरेका छन्।
दीपकराज गिरी, दीपाश्री निरौला, करिश्मा मानन्धर, रेखा थापा, प्रियंका कार्की, केकी अधिकारीलगायत कलाकर्मीले पनि विपद्को समयमा एकताबद्ध भएर प्रभावितको सहयोगमा जुट्न आग्रह गरेका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि भोटेकोसी बाढी प्रभावितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानको आकस्मिक बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष रीता थापामगर र महासचिव शिव हमालले संयुक्त विज्ञप्तिमार्फत सहयोगको जानकारी दिएका छन्।
विपद्को घडीमा कला क्षेत्रबाट आएको यो सक्रियताले उद्धार, राहत र पुनर्स्थापनाको अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
