गृहमन्त्रीमाथि कमेन्ट गर्दा प्रहरीको केरकार?
काठमाडौं । गृहमन्त्रीबारे सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको विषयमा सोधपुछका लागि बोलाइएका जाजरकोटका गणेशमानसिंह ठकुरी अस्पताल भर्ना भएपछि घटनाले नयाँ मोड लिएको छ।
वीर अस्पतालको आकस्मिक कक्षबाट सार्वजनिक भएको उनको भिडियोमा प्रहरीले आफूलाई धम्की दिएको र मानसिक यातना दिएको आरोप लगाइएको छ ।
कुशे गाउँपालिकाका ठकुरीले आफूले केही महिनाअघि गृहमन्त्रीसँग सम्बन्धित फेसबुक पोस्टमा ‘सहकारी ठग’ भन्दै कमेन्ट गरेको र त्यसपछि साइबर ब्यूरोबाट फोन आएपछि भोटाहिटीस्थित कार्यालयमा पुगेको बताएका छन् ।
उनका अनुसार ब्यूरोमा अधिकारीहरूले गृहमन्त्रीविरुद्ध टिप्पणी गरेको भन्दै आफूलाई जेल हाल्ने धम्की दिएका थिए । पटक-पटक केरकार गरिएको र विभिन्न प्रश्न सोधेर मानसिक दबाब दिएको उनको आरोप छ ।
ठकुरीका भाइ मानबहादुरका अनुसार साइबर ब्यूरोबाट बोलाएपछि गणेशमानसिंह आइतबार कार्यालय पुगेका थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनी शिक्षक सेवा आयोगको तयारी गरिरहेका थिए ।
भाइको दाबीअनुसार ब्यूरोमा दिनभरजसो राखेर सोधपुछ गरिएको थियो । त्यहाँ आफूलाई माथिल्लो तहको आदेशमा बोलाइएको बताइएको उनले जानकारी दिए ।
सोमबार पनि सोधपुछ दोहोरिएको र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार पुनः ब्यूरो पुगेपछि अवस्था असह्य बनेको परिवारको भनाइ छ ।
मानबहादुरका अनुसार सोधपुछका क्रममा पानी खान बाहिर निस्किएका गणेशमानसिंहले नजिकैको औषधि पसलबाट औषधि किनेर सेवन गरेका थिए । त्यसपछि उनलाई तत्काल उपचारका लागि वीर अस्पताल पठाइएको परिवारले जनाएको छ ।
तर, साइबर ब्यूरोले भने सामाजिक सञ्जालमा फैलिएको भिडियोले घटनाको वास्तविक सन्दर्भलाई तोडमोड गरेको दाबी गरेको छ । ब्यूरोका एसपी भाग्येन्द्र पुरुष ढकालका अनुसार ठकुरीलाई गृहमन्त्रीसँग सम्बन्धित विषयमा नभई अर्कै व्यक्तिको उजुरीमाथि अनुसन्धानका लागि बोलाइएको थियो ।
उनका अनुसार इलामका एक होटल व्यवसायीले आफ्नो व्यवसायबारे भ्रामक टिप्पणी गरिएको भन्दै उजुरी दिएका थिए । उक्त उजुरी प्रहरी प्रधान कार्यालयको सामाजिक सञ्जालसम्बन्धी डेस्क हुँदै साइबर ब्यूरोसम्म पुगेपछि अनुसन्धानका क्रममा ठकुरीसँग सोधपुछ गरिएको ढकालले बताए ।
ब्यूरोले ठकुरीलाई हिरासतमा राखेर अनुसन्धान नगरिएको पनि जनाएको छ । सोही क्रममा उनीसँग सम्बन्धित व्यक्तिबाट कार्यालयमा फोन आएर उनले विष सेवन गर्ने चेतावनी दिएको जानकारी प्राप्त भएको र त्यसपछि उनको खोजी गरिएको ब्यूरोको भनाइ छ ।
एसपी ढकालका अनुसार औषधि सेवन गरेको थाहा पाएपछि तत्काल उनलाई वीर अस्पताल पठाइएको थियो । उनले घटनालाई गृहमन्त्रीसँग जोडेर सामाजिक सञ्जालमा गरिएको प्रचारप्रति आपत्ति जनाउँदै त्यसमा वास्तविक घटनाभन्दा फरक सन्दर्भ प्रस्तुत गरिएको दाबी गरे ।
ब्यूरोले जारी गरेको विज्ञप्तिमा पनि सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री फैलाइएको र त्यसले अनुसन्धानमा समेत असर पार्न खोजिएको उल्लेख गरिएको छ ।
ठकुरीका परिवारले भने प्रहरीको दाबी अस्वीकार गरेका छन् । भाइ मानबहादुरले विज्ञप्तिमा उल्लेख गरिएका केही विवरण नै गलत रहेको दाबी गर्दै आफ्नो दाइले गरेको कमेन्टको स्क्रिनसटसमेत सम्पादन गरिएको हुनसक्ने बताएका छन् ।
उनले गणेशमानसिंहले कुनै पनि प्रकारको मादक पदार्थ सेवन नगर्ने दाबी गर्दै प्रहरीले सोधपुछका क्रममा गरेको व्यवहारप्रति प्रश्न उठाएका छन् । उनका अनुसार सामान्य सामाजिक सञ्जाल टिप्पणीका विषयमा बोलाइएका व्यक्तिमाथि मानसिक दबाब सिर्जना गर्नु उचित नभएको परिवारको भनाइ छ ।
घटनाबारे प्रहरीले भने विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान हुन सक्ने विषय रहेको जनाएको छ । साइबर ब्यूरोका अनुसार उक्त कानुनमा अधिकतम पाँच वर्षसम्मको सजायको व्यवस्था रहेकाले आफूहरूले ‘६-७ वर्ष जेल हाल्ने’ भनेर धम्की दिएको भन्ने आरोपसमेत अस्वीकार गरिएको छ ।
एकातिर अस्पतालको बेडबाट ठकुरीले प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् भने अर्कोतिर प्रहरीले भिडियोले घटनाको वास्तविक पृष्ठभूमि लुकाएर भ्रम फैलाएको दाबी गरेको छ ।
