`

बाढीपीडितको उद्धार र सहयोगमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिबद्धता

Nepal One HD १६ भदौ २०८३ १५:०२
जीवनशैली/स्वास्थ्य

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा सहयोगमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति अजयकुमार मिश्रले सार्वजनिक प्रतिबद्धता जारी गर्दै बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

बाढीपीडितको सहयोगका लागि प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरूले स्वेच्छाले दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

प्रतिष्ठानका शिक्षक तथा कर्मचारीले व्यक्तिगत रूपमा आर्थिक तथा भौतिक सहयोगसमेत गरिरहेको जनाइएको छ । आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ ।

विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा तथा अन्य सहयोग उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता पनि प्रतिष्ठानले जनाएको छ ।

प्राकृतिक विपद् वा सम्भावित प्राकृतिक तथा मानव सिर्जित आपत्कालीन अवस्थामा नागरिकको जीवनरक्षा र स्वास्थ्य सेवा प्रवाहका लागि प्रतिष्ठान सदा तयार रहने समेत जिकिर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *