बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तनहुँ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भानु नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नगरपालिकाका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले भानु नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट समेत बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । विभिन्न श्रेणीका शिक्षक तथा कर्मचारीको तलबबाट रु ३६ लाख ५२ हजार सङ्कलन गरी कोषमा जम्मा गरिने उहाँले बताउनुभयो ।
नगरपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीको तलबबाट प्राप्त हुने रु ३६ लाख ५२ हजार बराबर जम्मा हुने रकम व्यवस्थित रूपमा सङ्कलन गरी कोषमा जम्मा गर्ने जनाएको छ । नगरपालिकाका जनप्रतिनिधिले कम्तीमा १० दिनको सेवा-सुविधा बराबरको रकम सहयोग गर्ने निर्णय गरेको त्रिपाठीले जानकारी दिनुभयो ।
उक्त रकम बाढीमा परी हालसम्म सम्पर्क स्थापित हुन नसकेका नगरवासीको खोज तथा उद्धार कार्यमा सहयोग गर्न प्रयोग गरिने उहाँले बताउनुभयो । रसुवामा आएको बाढीका कारण विभिन्न स्थानमा पुगेका तथा हालसम्म परिवारको सम्पर्कमा नआएका भानु नगरवासीको खोजीलाई समेत नगरपालिकाले प्राथमिकतामा राखेको छ ।
सम्पर्कविहीन नागरिकको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।
बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिले विपद्को यस कठिन घडीमा रसुवावासी तथा प्रभावित नागरिकप्रति उच्च मानवीय संवेदना, ऐक्यबद्धता र सहयोग आवश्यक रहेको धारणा राखेका छन् ।
