`

रसुवा बाढीपछि पुनःस्थापनामा जुट्यो सरकार, १ अर्ब रुपैयाँ निकासा

Nepal One HD १६ भदौ २०८३ २२:०७
बिशेष

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले सरकारले बाढी प्रभावित क्षेत्रका लागि आज १ अर्ब रुपैयाँ निकासा गरेको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो कुरा बताएका हुन् । उनले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहत वितरणसँगै पुनःस्थापनातर्फ अघि बढेको बताए ।

उनले बाढी प्रभावित नागरिकको जीवनरक्षा, स्वास्थ्य उपचार र मनोपरामर्शलाई प्राथमिकता दिँदै पुनःस्थापनाको काम अघि बढाइएको जानकारी दिए। प्रभावित क्षेत्रमा आवश्यकता अनुसार खोज, उद्धार र राहतका लागि जनशक्ति परिचालन गरिरहने उनले बताए।

‘प्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्दै उहाँहरूको स्वास्थ्य बचाउन आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनःस्थापनातर्फ लागेको जानकारी गराउँछौँ। तथापि, प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा पनि आवश्यकताअनुसार जनशक्ति खटाइरहने छौँ,’ उनले भने।

प्रधानमन्त्री शाहका अनुसार नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गरिरहेका छन्। रसुवाका बाढी प्रभावितलाई समेत नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रका लागि मंगलबार १ अर्ब रुपैयाँ निकासा गरेको छ। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित स्थानीय तहलाई आवश्यकताअनुसार उपलब्ध गराउन निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताए।

उनका अनुसार मंगलबार मात्रै तीन जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ। यसअघि सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो।

‘नेपाल सरकारले बाढी प्रभावित क्षेत्रका लागि आज १ अर्ब रुपैयाँ निकासा गरेको छ। यो रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित स्थानीय तहमा आवश्यकताअनुसार उपलब्ध गराउन निर्देशन दिइसकेका छौँ। जसमध्ये आजै तीन जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ,’ प्रधानमन्त्री शाहले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *