`

अस्ट्रेलियाको आर्थिक वृद्धिदर बढ्यो, दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत

Nepal One HD १७ भदौ २०८३ १८:१९
विश्व

काठमाडाैँ। अस्ट्रेलियाको आर्थिक वृद्धिदर सन् २०२६ को दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत पुगेको छ। मंगलबार सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार आर्थिक वृद्धिदर अघिल्लो त्रैमासिकको तुलनामा बढेको हो।

अस्ट्रेलियाको तथ्यांक विभागका अनुसार जुन महिनाको अन्त्यसम्मका तीन महिनामा देशको कुल गार्हस्थ्य उत्पादन शून्य दशमलव ४ प्रतिशतले बढेको हो । मार्चमा समाप्त भएको अघिल्लो त्रैमासिकमा आर्थिक वृद्धिदर शून्य दशमलव ३ प्रतिशत थियो।

वार्षिक आधारमा भने जुनसम्मको १२ महिनामा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन २ दशमलव १ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

अस्ट्रेलियाको केन्द्रीय बैंकले गत अगस्टमा सार्वजनिक गरेको पछिल्लो प्रक्षेपणमा वार्षिक आर्थिक वृद्धिदर १ दशमलव ९ प्रतिशत रहने अनुमान गरेको थियो । त्यस्तै, देशको सबैभन्दा ठूलो उपभोक्ता बैंकले सोमबार त्रैमासिक आर्थिक वृद्धिको अनुमान शून्य दशमलव १ प्रतिशत र वार्षिक वृद्धिको अनुमान १ दशमलव ६ प्रतिशतमा झारेको थियो।

कोषाध्यक्ष जिम चाल्मर्सले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा पछिल्लो तथ्यांकले अस्ट्रेलियाको अर्थतन्त्र अझै पनि लचिलो र मजबुत रहेको देखाएको बताए। तथ्यांक विभागका अनुसार दोस्रो त्रैमासिकको आर्थिक वृद्धि निजी क्षेत्रको मागमा देखिएको सुधार र त्यसलाई पूरा गर्न बढेको आयातका कारण भएको हो।

तथ्यांक विभागकी राष्ट्रिय लेखा प्रमुख ग्रेस किमले बढ्दो उपभोग र व्यवसायिक लगानी अर्थतन्त्रका केही क्षेत्रमा केन्द्रित रहे पनि समग्र आर्थिक वृद्धिमा आयातले ठूलो भूमिका खेलेको बताए। त्रैमासिक अवधिमा वस्तुको आयात २ दशमलव ४ प्रतिशतले बढेको छ । अस्ट्रेलियाली नागरिकहरू विद्युतीय सवारीसाधनतर्फ आकर्षित भइरहेका बेला सवारीसाधनको आयात १० दशमलव ३ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।

यद्यपि, मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय यात्रामा असर परेपछि सेवाको आयात ४ दशमलव ९ प्रतिशतले घटेको छ। मार्च त्रैमासिकमा खराब मौसमका कारण प्रभावित भएको कोइला उत्पादनमा सुधार आएपछि अस्ट्रेलियाको निर्यात भने शून्य दशमलव ८ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकले अगस्टमा गरेको प्रक्षेपणअनुसार डिसेम्बरसम्म वार्षिक आर्थिक वृद्धिदर १ दशमलव ४ प्रतिशतमा झर्ने र सन् २०२८ सम्म पनि २ प्रतिशतभन्दा कम रहने अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *