सुरक्षाकर्मीको साहसको प्रधानमन्त्री बालेनले गरे प्रशंसा – ‘आँशु लुकाएर दलदलमा पसिरहनुभएको छ’
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको साहस र योगदानको प्रशंसा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सुरक्षाकर्मीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा बाढीका बेला सुरक्षाकर्मीले देखाएको साहसलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खालमा क्षति पुर्याउँदै कैदीबन्दी राखिएको भवनसम्म लेदो र पानी पसे पनि कारागार सुरक्षार्थ खटिएका ५२ जना सुरक्षाकर्मीले दुई भवनमा रहेका ९२३ कैदीबन्दीलाई सुरक्षित रूपमा माथिल्लो भवनमा सारेको उनले बताएका छन्।
बाढीको मौका छोपेर पर्खाल र गेट तोडेर करिब १०० मिटरसम्म भागेका ५० कैदीबन्दीलाई समेत सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएको शाहले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
राष्ट्रसेवक सुरक्षाकर्मीज्यूहरू,
नुवाकोटको विदुर ६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा ९२३ जना कैदीबन्दीहरूलाई राखिएको थियो। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी दायाँबायाँ क्षति पुर्याउँदै अघि बढ्यो।
यसबारे थाह पाएपछि कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका कमान्डरहरूसहित ५२ जना सुरक्षाकर्मीहरूले अलिकति पनि हिम्मत र धैर्य गुमाउनुभएन। उहाँहरूले २ भवनहरूमा राखिएका सबै कैदीबन्दीलाई माथिल्लो भवनमा सार्नुभयो।
त्यो बेलासम्म त्रिशूलीको तटीय क्षेत्रमा रहेको कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट र पर्खाल ढाल्दै केहीबेर अघिसम्म कैदीबन्दीहरू राखिएको भवनहरूको पहिलो तलासम्म लेदोसहित बाढी पसिसकेको थियो।
सुरक्षाकर्मीहरूका लागि त्यति मात्रै चुनौती थिएन। बाढीको मौका छोपेर पर्खाल र गेट तोडी १०० मिटरसम्म भागिसकेका ५० जना कैदीबन्दीहरूलाई उहाँहरूले पुनः नियन्त्रणमा लिनुभयो। भाग्न नपाएका कैदीबन्दीहरूले गरेको आक्रमणबाट हाम्रा केही सुरक्षाकर्मीहरू घाइते हुनुभयो। उहाँहरूले वरपरका स्थानीय बासिन्दाको समेत ज्यान रक्षा गर्नुभयो।
आज पनि उहाँहरू बस्ने ब्यारेक र कार्यालय लेदोमै छ, पहुँचमार्ग अस्तित्वमै छैन। खानेपानीको व्यवस्था बिथोलिएको छ। खेतको आलीलाई बाटो बनाउँदै आफैँ टाढाबाट पानी बोकेर कैदीबन्दीहरूलाई खुवाउने, बाटो खुलाउने र उच्च मनोबलका साथ ड्युटीमा उभिने हाम्रा सुरक्षाकर्मीहरूको यो साहस अद्भुत छ।
यो त एक उदाहरण हो।
यो विपद्मा हाम्रा सुरक्षाकर्मीहरूले कैयौँ उदारहणीय काम गर्नु भएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म १३ हजार ३ सय ९१ मानिसहरूलाई उद्धार गरिएको छ। स्थलमार्ग, हेलिकप्टरमार्फत र कहीँकतै आफ्नै काँधमा बोकेर समेत घाइतेहरूलाई तत्काल अस्पताल पुर्याउनुभयो।
शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरहरूमा प्रभावितहरूलाई हौसला बढाउन हाम्रा तीनै निकायका सुरक्षाकर्मीहरू अहोरात्र खटिरहनुभएको छ।
कठिन भूगोल छ। प्रतिकूल मौसम छ। तर, हाम्रा सुरक्षाकर्मीहरू बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको छ।
तपाईंहरूले प्रभावितहरुको पीडा गहिरोसँग बुझ्नुभएको छ। बाढीका कारण सम्पर्कविहीन भएको भन्दै आफ्ना मान्छे खोजिदिन तपाईंहरुसँग आग्रह गर्ने मानिसहरुको संख्या ठूलो छ। त्यसैले तपाईंहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ।
हामीलाई थाहा छ तपाईंहरु पनि साथीहरु गुमाएको पीडामा हुुनुहुन्छ। बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन हुनुहुन्छ। यस्तो पीडामा आँशु लुकाएर दलदलमा पसिरहनुभएको छ। सकिनसकी शव उठाइरहनुभएको छ। होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ। अझै पनि बाढी आउन सक्ने सूचना आएकाले सर्तक रहन माइकिङ गर्दै हिँडिरहनुभएको छ।
तपाईंहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर संकट व्यवस्थापनमा लागिरहनुभएको छ।
आ आफ्ना मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टबाट कमाण्डरहरुले प्रभावित क्षेत्रमा खटिरहेका सुरक्षाकर्मीहरूलाई निर्देशन दिइरहनुभएको छ। समन्वय गरिरहनुभएको छ।
कमान्डरहरुलाई चिन्ता पनि छ होला कतै आफ्ना सुरक्षाकर्मी खोजी र उद्धारमा खटिदै गर्दा आफै अफठ्यारोमा पर्छन् की? त्यसैले प्रभावित क्षेत्रमा खटिरहनु भएका आफ्ना साथीहरुको मनोवल उच्च राख्ने प्रयास गरिरहनुभएको छ।
नेपाली सेनाः बाढी आएलगत्तै सैनिक मुख्यालयको योजना अनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ खडा गरी उद्धार कार्य भइरहेको छ। रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’,चिकित्सकसहितको‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिरहेको छ। प्रभावित क्षेत्रको कठिन भूगोलहरूमा अन्य सुरक्षा निकायहरूको सहयोग लिएर उद्धार कार्यको अगुवाइ गरिरहेको छ। विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धार कार्यको नेतृत्व गरिरहेको छ। यो उद्धार टोलीमा सशस्त्र प्रहरी बल, नेपालको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टीम’ परिचालन भइरहेको छ। साथै, सेनाले तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र बाटो खोल्ने काम तीव्र पारेको छ। नुवाकोटको देवीघाटमा सेना आफैले आफ्ना इन्जिनियरहरु परिचालन गरी एक्रो ब्रिज जडान गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा अहिले ९ हजार २ सय ८७ जना सेना खटिरहनुभएको छ।
नेपाल प्रहरीः बाढी प्रभावित क्षेत्रमा सुरुआतबाटै अग्रपङ्क्तिमा खटिएर खोज, उद्धार तथा राहत वितरणमा नेपाल प्रहरी सक्रिय छ। तालिमप्राप्त कुकुरहरूले खोजी तथा उद्धारलाई सहयोग गरेका छन्। घाइतेहरूलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउने काम भइरहेको छ। शव व्यवस्थापनमा प्रहरीले नेतृत्व गरिरहेको छ। जोखिमपूर्ण क्षेत्रहरूमा निरन्तर सूचना प्रवाह गर्दै नागरिकको जिउधनको सुरक्षा गरिरहेको छ। त्यति मात्रै होइन, प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न पनि प्रहरीले उत्तिकै मिहिनेत गरिरहेको छ। हाल बाढी प्रभावित क्षेत्रमा ७ हजार ९ सय ७५ प्रहरी खटिरहनु भएको छ।
सशस्त्र प्रहरी बल, नेपालः कठिन भूगोल र उर्लँदो भोटेकोशी—त्रिशूली नदीको जोखिम मोल्दै विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोलीमार्फत प्रत्यक्ष खोज तथा उद्धारमा सक्रिय रूपमा खटिरहेको छ। त्यसको लागि प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट, १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको थियो। ड्रोन स्क्वाड परिचालन गरिरहेको छ। केनाइन टोली पनि सँगसँगै खटाएको छ। प्रभावित क्षेत्रमा उपचार सेवा दिइरहेको छ। प्रभावित क्षेत्रको नेपाल चीन सीमानामा नेपाली झण्डा स्थापना गर्न सफल भएको छ। हाल प्रभावित क्षेत्रमा ४ हजार २ सय ३ जना सशस्त्र प्रहरी खटिरहनुभएको छ।
राष्ट्रसेवक सुरक्षकर्मीहरु,
तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटको बेला लाखौँ मानिसहरुले सुरक्षित महसुस गर्न पाउनुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन।
संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं।
संकट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरुलाई पनि हामी विशेष धन्यवाद दिन्छौं।
राष्ट्रसेवक सुरक्षाकर्मीज्यूहरु,
तपाईंहरुप्रति हामी सँधै कृतज्ञ रहनेछौं।
