सडक, पुल र ऊर्जा पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन कुलमान घिसिङको आग्रह
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको समग्र पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि तत्काल गुरुयोजना बनाउन सरकारसँग माग गरेका छन्।
बाढी आएको १३औँ दिन राष्ट्रिय शोक मनाइरहँदा सामाजिक सञ्जालमार्फत घिसिङले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।
उनले दिनरात नभनी खोज तथा उद्धारमा खटिएका नेपाली सेना, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, प्रशासन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञ एवं प्राविधिक टोलीप्रति आभार व्यक्त गरेका छन्।
बाढीमा परेका अझै धेरैको अवस्था अज्ञात रहेको भन्दै घिसिङले चिलिमे, रसुवागढीलगायतका सुरुङमा फसेकाहरूको खोजी तथा उद्धार र राहत वितरण कार्यलाई अझ तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
घिसिङले सामाजिक सञ्जालमा लेखेका छन् –
रसुवा जिल्लास्थित भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीको आज १३औँ दिनमा राष्ट्रिय शोक मनाइँदैछ। यस विनाशकारी विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। दिनरात नभनी खोज तथा उद्धार कार्यमा खटिनुभएका नेपाल आर्मी, अन्य सुरक्षा निकायहरू, सम्बन्धित पालिकाका जनप्रतिनिधिहरू, स्थानीय प्रशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ एवं प्राविधिक टोलीलगायत सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछु। बाढीमा परेका अझै धेरैको अवस्था अज्ञात छ। उहाँहरूको अवस्था यथाशीघ्र पत्ता लाग्ने विश्वास व्यक्त गर्दै चिलिमे, रसुवागडी लगाएतका टनेलमा फसेकाहरूको खोजी, उद्धार गर्न तथा राहत वितरण कार्यलाई अझ तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई अनुरोध गर्दछु । बाढीले त्रिशूली नदी बेसिनको भूगोल र प्राकृतिक स्वरूप नै बदलिदिएको छ। जलविद्युत आयोजना, सडक, पुल, प्रसारणलगायतका महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने सयौँ परिवार घरबारविहीन भएका छन्। यो क्षति तत्कालीन राहत र पुनर्निर्माणले मात्र सम्बोधन हुने अवस्था होइन। अब संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै त्रिशूली नदी बेसिनको समग्र पुनर्निर्माण तथा दीर्घकालीन विकासको गुरुयोजना तत्काल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु। सुरक्षित एकीकृत बस्ती, सडक तथा पुल, ऊर्जा पूर्वाधार, नदी नियन्त्रण र तटीय संरक्षणलाई प्राथमिकतामा राखिनुपर्छ। विपद्ले भत्काएको त्रिशूलीलाई अझ सुरक्षित, व्यवस्थित र दिगो त्रिशूलीका रूपमा पुनर्निर्माण गर्ने संकल्प अब आवश्यक छ।यस पुनर्निर्माण र पुनर्स्थापनाको अभियानमा आफ्नो विज्ञता, अनुभव र क्षमताले भ्याएसम्म साथ, सहयोग र योगदान गर्न म पूर्ण रूपमा प्रतिबद्ध छु।
