कृष्णभीर सडक अवरुद्ध : लमजुङ–काठमाडौं भाडा दोब्बरभन्दा बढी
लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ यात्रा प्रभावित भएको छ ।नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँ जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन् । यसअघि करिब पाँच–छ घण्टामा पूरा हुने यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ भने यात्रुको खर्चसमेत बढेको छ ।भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि बेँसीसहरबाट काठमाडौँ चल्ने माइक्रोबस तथा ठुला बस चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन् ।
लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढ्नुका साथै सवारीसाधन तथा यात्रुको सङ्ख्या घटेको छ । बेँसीसहर–काठमाडौँ माइक्रोबसका चालक मुस्कान राईका अनुसार वैकल्पिक मार्गबाट काठमाडौँ पुग्न पहिलेभन्दा धेरै समय लाग्ने गरेको छ ।
“बाटो लामो भएकाले समय पनि धेरै लाग्छ”, उनले बताए । बेँसीसहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४०–५० वटा माइक्रोबस काठमाडौँ जाने गरेकामा अहिले पाँच–सात वटा मात्र सञ्चालनमा छन् । यात्रु पनि अत्यावश्यक काम परेका मात्रै जाने गरेका छन् ।
सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा रु ९०० र विद्युतीय माइक्रोबसको रु ७०० रहेकामा अहिले क्रमशः रु दुई हजार र रु एक हजार ५०० पुगेको छ । यात्रु तथा सवारीसाधन घटेसँगै चालक तथा व्यवसायीको आम्दानीमा असर परेको छ । ठुला बसमा पनि यात्रुको सङ्ख्या घटेको छ । पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेँसीसहरबाट काठमाडौँ दैनिक पाँच–छ वटा ठुला बस छुट्ने गरेकामा अहिले एउटा बसमात्र जाने गरेको छ । वैकल्पिक मार्गअनुसार भाडा फरक पर्ने भएकाले हाल निश्चित भाडा तोकिएको छैन ।
यसअघि सवारीसाधन अनुसार रु ९०० देखि रु एक हजार २०० सम्म रहेको भाडा अहिले दुई गुणाभन्दा बढी रहेको छ ।
सडक अवरोधको असर उपचारका लागि ‘रेफर’ हुने बिरामीको यात्रामा परेको छ । लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौँ, चितवन र पोखरा रेफर गर्ने गरिएको छ ।
काठमाडौँ लैजानुपर्ने केही बिरामीलाई एम्बुलेन्समै घुमाउरो बाटोबाट लैजानुपरेको छ भने कतिपयलाई पोखरासम्म एम्बुलेन्समा पुर्याएर त्यहाँबाट हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको उनले बताए।
यसले बिरामी र आफन्तलाई झन्झटसँगै उपचार खर्चसमेत बढाएको उनको भनाइ छ । बेँसीसहरकी प्रकृति श्रेष्ठले वैकल्पिक मार्गबाट यात्रा गर्दा समय र खर्च दुवै बढेको बताइन् । उनी भदौ २० गते शनिबार काठमाडौँस्थित काम सकेर बेँसीसहर फर्किएकी थिइन् । काठमाडौँ जाँदा माइक्रोमा रु ९०० तिरेकी उनले फर्किँदा रु दुई हजार भाडा तिर्नुपरेको बताइन् ।
“वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ । वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ”, उनले बताइन् ।
नियमित मार्ग सञ्चालनमा नआएसम्म लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिमका कारण यात्रुले थप सास्ती खेप्नुपर्ने अवस्था छ ।
