`

बाढी प्रभावित क्षेत्र फिल्म सुटिङ गर्ने थलो होइन : कांग्रेस नेता कल्याण गुरुङ

Nepal One HD २३ भदौ २०८३ १३:५३
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसका नेता कल्याण गुरुङले भोटेकोशी बाढी प्रभावित क्षेत्रलाई राजनीति गर्ने र फिल्म सुटिङ गर्ने थलो नबनाउन आग्रह गरेका छन्।

रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा भोटेकोशीको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै गुरुङले अहिलेको समय प्रचार र राजनीतिक अभिष्ट पूरा गर्ने नभएको बताएका हुन्।

भोटेकोशी बाढीले प्रभावित क्षेत्रमा ठूलो विध्वंश पुर्‍याएको विषयमा गुरुङले यसअघि पनि विपद् व्यवस्थापन र दीर्घकालीन सुधारका सुझाव सार्वजनिक गरेका छन्।

गुरुङले बाढी प्रभावित क्षेत्रमा पुग्ने व्यक्ति तथा संस्थाले फोटो र भिडियो बनाएर सामाजिक सञ्जालमा प्रचार गर्नुभन्दा पीडितको उद्धार र राहतमा ध्यान दिनुपर्ने बताए।

‘संकटग्रस्त स्थल राजनीतिक अभिष्ट पूरा गर्ने षड्यन्त्रको खेल खेल्ने ठाउँ होइन,’ उनले भने, ‘यो फिल्म सुटिङ गर्ने बेला पनि होइन। यो अति संवेदनशील स्थल र अति संकटकालीन समय हो।’

उनले बाढी प्रभावित क्षेत्रमा राहत वितरणको नाममा भिडियो बनाउने, फोटो खिच्ने र सामाजिक सञ्जालमा प्रचार गर्ने प्रवृत्तिको आलोचना गरेका छन्।

‘शोकमा डुबेको र खण्डहर तथा बगरमा परिणत भएको बस्तीमा गएर फोटो खिच्ने र भिडियो बनाउने कार्य मात्रै नगर्नु होला,’ गुरुङले भने।

उनले राजनीतिक दलसँग आबद्ध व्यक्ति, सामाजिक संस्थाका प्रतिनिधि वा व्यक्तिगत रूपमा विपद् क्षेत्रमा पुग्ने सबैले पीडितको संवेदनशीलतालाई ख्याल गर्नुपर्ने बताए।

गुरुङका अनुसार अहिले खोजी तथा उद्धार, उपचार, राहत वितरण, सुरक्षा र पुनर्स्थापनामा केन्द्रित हुने समय हो।

‘राजनीति गर्न, फोटो खिच्न र भिडियो बनाउन प्रशस्त समय छन्,’ उनले भने, ‘अहिले आवश्यक काम गर्ने अति महत्वपूर्ण समय हो।’

उनले संकटग्रस्त क्षेत्रलाई अनावश्यक भीड नचाहिएको पनि बताएका छन्।

‘संकटग्रस्त क्षेत्रले मान्छेहरूको खोक्रो भीड खोजेको छैन,’ गुरुङले भने, ‘खोजी, उद्धार, उपचार, राहत, सुरक्षा र पुनर्स्थापनामा विशुद्ध काम गर्ने मानिसलाई मात्र त्यहाँ जान आग्रह गर्दछु।’

उनले उद्धारकर्मी र सुरक्षाकर्मीलाई काम गर्न दिने र उनीहरूको काममा बाधा नपुर्‍याउनु पनि ठूलो सहयोग हुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *