`

रसुवा बाढीमा सम्पर्कविहीन गङ्गारामका बुबा भन्छन्, ‘केही त चाहियो नि ! नत्र कसरी चित्त बुझ्छ’

Nepal One HD २३ भदौ २०८३ १८:२८
समाचार

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा धमाधम चाडपर्वको लहर सुरु भएको छ । अबको तीन दिनपछि कुशअमावस्या आउँदैछ ।त्यस लगत्तै आउने चौरचन, विश्वकर्मा पूजा, इन्द्रजात्रा, पितरपक्ष, जीतिया, दशहारा, दीपावली र छठ मिथिला क्षेत्रका महत्त्वपूर्ण चाडपर्व हुन् । यस्ता चाडवाडमा काम विशेषले टाढा रहेका परिवारका सबै सदस्य घरमा जम्मा हुने र आआफ्नो गच्छ अनुरुप मनाउने प्रचलन छ ।

तर यस पटक मटिहानी–७ की करिब ६० वर्षीया मिथिलादेवी मण्डललाई अहिले नजिकिएका चाडपर्वप्रति कुनै हेक्का छैन । छोरा गङ्गाराम मण्डल भोटेकोशी बाढीसँगै सम्पर्कविहीन भएपछि मण्डललाई जतिखेर पनि छोराकै सम्झनाले झस्काइ रहन्छ ।

“हमर बौवा कहिया आओत्, ओइकेबाट जोहैछी”, अर्थात मेरो छोरा कहिले आउँछ, अहिले उसकै बाटो हेर्दैछु मिथिला भन्छिन् । “बेटा नइ अई त पावैनतिहार कि आओत”, अर्थात छोरा नभइ चाडपर्व आउनुको के हुन्छ । काठमाडाैँस्थित ऋचा टुर्स एण्ड ट्राभल कम्पनीमा पर्यटकको खाना पकाउने काममा रहेका गङ्गाराम मानसरोवर जाने क्रममा भदौ १० गते भोटेकोशीमा बाढी आएसँगै रसुवाबाट सम्पर्कविहीन छन्।

गङ्गाराम सम्पर्कविहीन भएसँगै आफन्त रसुवासम्मै पुगेर खोजी गरेपनि कतै फेला नपरेपछि परिवारजन छटपटिरहेको छ । गङ्गाराम बाढीमा परी वेपत्ता भएपछि पत्नी गुञ्जा शोकले रुँदारुँदा कमजाेर भएकी छिन् ।

घरमा कोही नयाँ मानिस पुग्यो कि गुञ्जा पतिको केही खबर आयो कि भनी आस गर्छिन् । तर हालसम्म त्यस्तो आश पलाउने खबर भने कोहीबाट आएको छैन । “कोई हमर परनमाके खबर लाइबदेई” अर्थात कसैले मेरा पतिको खबर ल्याइदिए त हुन्थ्यो, गुञ्जा बल्लतल्ल यति बोल्नुहुन्छ । “कनियाँके हालत देख्बे करैछी, इ केना उठत ? चाइरगो बालबच्चा अई, हे भगवान् आब बौवा नई आयल त हमर परिवारके कि होयत ?” अर्थात मेरी बुहारीको हालत देख्नु नै भयो, यो कसरी उठ्छे ? चार वटा लालाबाला छन् , हे भगवान ! छोरा नआए हाम्रो परिवारको के होला ? गङ्गाराम घर नफर्के परिवारको लालनपालन कसरी हुन्छ यही चिन्ताले पिरोलिनु भएकी आमा मिथिलाले घरमा पुगेका सञ्चारकर्मीसँग बिलौना पोख्दै भनिन्।

गङ्गारामका पिता अशेश्वर मण्डल, आमा, पत्नी र चार छोराछोरीसहित आठ जनाको परिवार छ। ठुलाे छोरा सानोतिनो काममा लागेपनि परिवारको लालनपालन गङ्गारामकै आर्जनको भरमा थियो । अहिले घरको मुख्य मान्छे नै सम्पर्कविहीन भएपछि उक्त परिवार छाँगाबाट खसे झै भएको छ ।

गङ्गारामबारे सोधखोज गर्न घर पुग्ने जोसुकैलाई पिता अशेश्वर छोराको फोटो देखाउँदै यसलाई कतै देख्नुभयो भनी सोध्छन् । अशेश्वर भन्छन्, “ठूलो नाति अहिलेपनि काठमाडौँतिरै बाबुको खोजीमा छ, अरु साना लालाबालासँग हामी घरमा छौ, पत्नी मिथिला, बुहारी गुञ्जा र तीन नातिनातिना देखाउँदै उहाँ भन्नुहुन्छ पत्नी मिथिला र बुहारी खानपीन र घरको काम गर्नु भन्दा टोलाइ रहन्छन्। बाहिरबाट पुग्ने जो कोही पाहुँनाले हजुरबा, हजुरआमा र आमाका बीच तीन जना छोराछोरी टोलाइरहेका देख्छन् । ती अवोध बालबालिकालाई अझै पनि बाबु गङ्गारामलाई लिएर ठुलदाजु आदित्यराज मण्डल फर्कने आस छ।

“भैया बाबुके लक औता” अर्थात दाजुले बुबालाई लिएर आउनुहुन्छ दुबै दिदीलाई बुझाउँदै गङ्गारामका करिब १० वर्षीय कान्छा छोरा एकलव्य मण्डल भन्छन् । कान्छो छोराको यो भनाइले हजुरबा, हजुरआमा, आमा र दुई दिदी झन् भक्कानिन्छन् । कान्छा एकलव्यको कुरामा सही थाप्दै उनका दिदी सलोनी र शिवु पनि भाइलाई ढाडस दिन्छन् ।

घरमा आउनेजानेसँग कुराकानीका आधारमा सम्पर्कविहीन भएको १४ दिन भइसकेकाले अशेश्वरलाई अब छोरा फर्कने त्यति आस छैन । उनी भन्छन्,’हेर्नोस् १४ दिन भयो, अब मेरो छोरा सकुशल भेटिन्छ नै भन्ने लाग्न छाड्यो, कुनै अवस्थामा उसलाई सरकारले ल्याइदिए विस्तारै मन बुझाउने कुरा बन्थ्यो ।’

आमा मिथिलाले छोराको कल्याण र दीर्घायुूको कामना गर्दै बर्सेनि जितिया पर्वको कठोर व्रत गर्दै आएकी थिइन्। असोज कृष्णपक्षमा मनाइने यो पर्व नजिकिदै गर्दा मिथिलालाई जितिया पर्वले झस्काएको छ ।

यसैबिच गङ्गाराम कार्यरत ट्राभल्स कम्पनीले भर्खर रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्म गरिएको खोजीमा उनी फेला नपरेको जानकारी परिवारजनलाई गराएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् । तर परिवारजन भने कम्पनी, सरकार र अरु खोजकर्ताले जुनसुकै अवस्थाका गङ्गाराम ल्याइदिउन् भनिरहेकाे छ । केही त चाहियो नि ! पिता अशेश्वर भन्छन्, “नत्र कसरी चित्त बुझ्छ ।” गङ्गारामको अवस्था यकिन नहुँदा घरपरिवारसँगै छरछिमेक सबै चिन्तित छन् । गङ्गारामको खोजीसँगै घरपरिवारलाई तत्काल राहत र आडभरोसको जरुरी देखिएको छिमेकी बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *