`

गृहमन्त्री गुरुङको चेतावनी- ‘देश लुट्नेहरूलाई समयले कठघरामा पुर्‍याउँछ’

Nepal One HD २३ भदौ २०८३ २०:३२
प्रमुख खबर

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकार सत्तामा राज गर्न नभई जनताको सेवा गर्न आएको बताएका छन् । मंगलबार साँझ पुरानो संसद् भवन परिसरमा जेनजी शहीदहरूको स्मृतिमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पुस्ताले सुरु गरेको सुशासन र परिवर्तनको यात्रा कुनै पनि षड्यन्त्रबाट नरोकिने दाबी गरेका हुन् ।

गृह मन्त्रालय र नेपाल सरकारको तर्फबाट आन्दोलनका शहीद, घाइते तथा सम्पूर्ण जेनजी योद्धाहरूलाई सलाम गर्दै गृहमन्त्री गुरुङले आफूहरू अधिकार माग्ने अवस्थाबाट अहिले अधिकार दिने ठाउँमा आइपुगेको बताए ।

उनले भने, ‘जहिले झुक्नुपथ्र्यो, आफ्नो अधिकारको लागि जहिले माग्नुपथ्र्यो, लड्नुपथ्र्यो। आज हामी आफैँ अधिकार माग्नेवालाबाट दिने ठाउँमा पुगेका छौँ । हामी आफ्नो अधिकार राम्रोसित माग्छौँ, नदिए खोस्न पनि सक्छौँ । प्रजातन्त्र र गणतन्त्र भाषणमा मात्र सीमित हुनुहुँदैन, त्यसलाई कार्यान्वयनमा उतार्न सक्नुपर्छ ।’

विगतका शासकहरूले देशका युवाहरूलाई विदेश पठाएर रेमिट्यान्समा रमाउने थिति बसालेको टिप्पणी गर्दै उनले त्यो कुनै उपलब्धि नभएको बताए । युवाहरू पलायन हुँदै जाँदा देशलाई वृद्धाश्रम बनाउने अवस्था आएकाले आफूहरू गोली थापेरै आन्दोलनमा होमिनु परेको उनको भनाइ थियो ।

शहीदहरूको रगतमाथि राजनीति गर्ने र देश लुट्नेहरूलाई समयले कठघरामा पु¥याउने चेतावनी दिँदै गृहमन्त्री गुरुङले भने, ‘जस–जसले यो अपराध गरे, देशलाई लुटे, हाम्रो रगतमाथि राजनीति गरे, हाम्रा निमुखा भाइबहिनीहरूको छाती र टाउकोमा गोली हाने— उनीहरूलाई एउटा सन्देश छः हामी हेरिरहेका छौँ, पर्खिरहेका छौँ । अहिले आनन्दको निद्रा सुत्नु राम्रै हो, तर भोलिपल्ट त्यो निद्रा कुन कठघरा र कुन जेलमा पुगेर टुट्छ भन्ने उनीहरूले कल्पना पनि गरेका छैनन् ।’

सरकारको मौनता वा संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै उनले अब राज्यको शक्ति जनताको हितमा मात्र प्रयोग हुने स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *