विपदका पीडितलाई होच्याउनेलाई रास्वपाले साधारण सदस्य पनि राख्दैन : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने आफ्नै पार्टीका नेता–कार्यकर्तालाई समेत नछाड्ने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै लामिछानेले विपत्तिमा सर्वस्व गुमाएका नागरिकको आक्रोश र पीडालाई मजाक बनाउने प्रवृत्ति स्वीकार्य नहुने बताए ।
उनले नागरिकको चित्कारलाई गलत ढंगले व्याख्या गर्ने, सामाजिक सञ्जालमा ओठे जवाफ फर्काउने र पीडितमाथि साइबर बुलिङ गर्ने अधिकार कसैलाई नभएको बताए ।
‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन,’ लामिछानेले भने ।
लामिछानेले विपद्का बेला नागरिकको पक्षमा उभिनुपर्नेमा पीडितलाई नै होच्याउने रास्वपाका सदस्य वा पदाधिकारीमाथि कडा कारबाही हुने घोषणा गरे ।
उनका अनुसार पार्टीको जुनसुकै तहमा रहेको व्यक्ति भए पनि विपत्तिमा परेका नागरिकलाई सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गरेको पाइए साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिनेछ ।
उनले पार्टीलाई अन्ध समर्थकको भीड बनाउनेभन्दा दुःखमा परेका नागरिकको पक्षमा उभिने सदस्य आवश्यक रहेको बताए ।
‘हामीलाई विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक होइन, शोक र पीडामा रहेका भुईँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य चाहिएको छ,’ उनको भनाइ थियो ।
लामिछानेले विपत्तिका बेला नागरिकमा देखिएको आक्रोशलाई सामाजिक सञ्जालको टिप्पणी वा राजनीतिक पक्षधरता हेरेर मूल्याङ्कन गर्न नहुने बताए ।
विपत्तिमा आफन्त गुमाएका, घरबारविहीन भएका र राज्यसँग राहत तथा उद्धारको अपेक्षा गरिरहेका नागरिकको पीडालाई बुझ्नुपर्ने उनको भनाइ थियो ।
उनले पार्टीका नेता–कार्यकर्तालाई समेत जनताको दुःखमा संवेदनशील बन्न निर्देशन दिँदै राजनीति भनेको संकटमा परेकालाई थप चोट दिने नभई उनीहरूको साथमा उभिने माध्यम हुनुपर्ने सन्देश दिए ।
विपद्का बेला पार्टीको विचारभन्दा माथि उठेर मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले पीडित नागरिकमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहारलाई स्वीकार नगर्ने स्पष्ट पारे।
