यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं । सरकारले भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भ्रमणदेखि प्रदेशका प्रमुख सचिव नियुक्ति तथा शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिसम्मका निर्णय गरेको हो।
शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको भ्रमण टोलीको भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।
त्यस्तै, भारतको नयाँ दिल्लीमा हुने आईजीएस्सी बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि प्रस्तावित विधेयकको मस्यौदा तयार गर्ने प्रक्रियालाई अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। मिटरब्याजका कारण उत्पन्न हुने अपराध नियन्त्रण तथा पीडितलाई न्याय दिलाउने उद्देश्यले बन्ने विधेयकको तर्जुमा प्रक्रिया अघि बढाउने निर्णय भएको हो।
भूमि व्यवस्था मन्त्रालयबाट प्रस्तावित काठमाडौं, ललितपुर, भक्तपुर, दाङ र सप्तरीका २७ स्थानीय तहमा रहेका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त गर्ने निर्णय भएको छ। आयोगको अध्यक्षमा हरिप्रसाद लम्साल, सदस्यमा रामशरण सापकोटा तथा महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको प्रवक्ता पोखरेलले बताए।
त्यसैगरी, सहसचिव विनोदबहादुर कुँवरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।
सहसचिव उत्तरकुमार खत्रीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा नियुक्त गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।
मन्त्रिपरिषद्का यी निर्णयबारे शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।
