`

भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघको ३३ लाख ३३ हजार सहयोग

Nepal One HD २५ भदौ २०८३ १८:४३
समाचार

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाल तयारी पोशाक उद्योग संघले ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।

संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो । संघका सदस्य उद्योगहरूले समेत आफ्नोतर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेको संघले जनाएको छ ।

भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै संघले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा घाइते र प्रभावित नागरिकको स्वास्थ्यलाभको कामना गरेको छ ।

संघले बाढी प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायबाट भइरहेको प्रयासको प्रशंसा गरेको छ ।

यसैगरी, बाढीपीडित तथा प्रभावित नागरिकको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताको सहयोगमा लत्ताकपडा, तयारी पोशाक तथा अन्य आवश्यक सामग्रीसमेत राहतस्वरूप वितरण भइरहेको जनाएको छ ।

संघले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्काउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनस्र्थापना, स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान तथा रोजगारीका अवसरको संरक्षण र सिर्जनामा समेत ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

नेपाल तयारी पोशाक उद्योग संघले विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत, पुनस्र्थापना तथा रोजगारी पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *