`

मुस्ताङ भूकम्प: ३० भन्दा बढी घर क्षतिग्रस्त, सयौं घर जोखिममा

Nepal One HD २६ भदौ २०८३ ८:०१
समाचार

भदौ २३ गते राति मुस्ताङको लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण मुस्ताङको लोमान्थाङ गाउँपालिकामा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्ण रूपमा भत्किएका छन्।

वडा नम्बर-५ बाहेक अन्य सबै वडाका अधिकांश घरमा चिरा परेर भत्किने खतरा बढेको छ।नेपाल-चीन उत्तरी कोरलानाकासँग जोडिएको यस क्षेत्रमा घरबारविहीन बनेका नागरिकलाई तत्कालका लागि गाउँकै समाजघर र पाल टाँगेर सुरक्षित रूपमा राखिएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। भूकम्पबाट सबैभन्दा बढी क्षति लोमान्थाङ–३ फुवा र त्यस आसपासका बस्तीमा पुगेको छ।

बुधबारदेखि सुरु गरिएको स्थलगत लगत संकलनका क्रममा हालसम्म वडा नम्बर-३ का नाम्ग्याल, फुवा र ठिङ्गर, वडा नम्बर ४ का किम्लिङ, चुम्जुङ र नाम्डोक तथा वडा नम्बर-१ को छोसेर क्षेत्रका ३० घर पूर्ण क्षतिग्रस्त भएको पुष्टि भइसकेको छ। वडा नम्बर २ र ५ मा भने विवरण संकलनको काम भइरहेको छ।

मङ्गलबार राति ९ बजेर ५३ मिनेटमा पहिलो पटक भूकम्प गएपछि त्यसलगत्तै कम्तीमा नौ पटकसम्म पराकम्पन महसुस गरिएको थियो। लगातारको धक्कापछि उपल्लो मुस्ताङका बासिन्दा सुरक्षित स्थान खोज्दै रातभर खुला आकाशमुनि बस्न बाध्य भएका थिए।

गाउँपालिकाका अध्यक्ष गुरुङ, उपाध्यक्ष छ्युमी विष्टसहितका जनप्रतिनिधि, कर्मचारी, इलाका प्रहरी कार्यालय, छोसेर प्रहरी चौकी, सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रतिनिधिहरू यतिबेला स्थलगत विवरण संकलनमा खटिएका छन्।

पीडितहरूको पुनःस्थापना र राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको उपाध्यक्ष विष्टले बताए।यसअघि लोमान्थाङ-५ स्थित ऐतिहासिक छोदे गुम्बाको बाहिरी पर्खालमा समेत क्षति पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले भौगोलिक विकटताका कारण क्षतिको विस्तृत र पूर्ण विवरण प्राप्त हुन अझै केही समय लाग्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *