बाढीपीडितलाई कलाकार संघको सवा पाँच लाख सहयोग
काठमाडौं। नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावित परिवारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेको छ ।
संघका अध्यक्ष उत्तम केसीले सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको पनि उपस्थिति थियो ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम संकलन गरिएको संघले जनाएको छ ।
अध्यक्ष केसीले बाढी प्रभावित नुवाकोटका जनप्रतिनिधिका रूपमा मन्त्री तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै चलचित्र क्षेत्रका विभागीय मन्त्रीकै उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको बताए ।
संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले सामाजिक सेवाको उद्देश्यसहित स्थापना भएको कलाकार संघले विपद्का बेला आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए । कठिन समयमा सरकारसँग एकताबद्ध भएर प्रभावितलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम जुटाइएको उनको भनाइ छ ।
संघका अनुसार जेनजी सहिद दिवस तथा संघको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमबाट संकलित रकम बाढीपीडितका लागि हस्तान्तरण गरिएको हो ।
