`

मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने

Nepal One HD ३० भदौ २०८३ २१:४२
विश्व

क्वालालम्पुर। मलेसियाले सन् २०२७ का लागि ‘फिड–इन ट्यारिफ’ (फिट) कार्यक्रमअन्तर्गत २५० मेगावाटको नवीकरणीय ऊर्जा कोटा उपलब्ध गराउने भएको छ।

ऊर्जा रूपान्तरण तथा जल रूपान्तरण मन्त्रालयका अनुसार नयाँ कोटाबाट तीन अर्ब रिङ्गिट (करिब ७४ करोड अमेरिकी डलर) बराबरको लगानी भित्रिने र पाँच हजारभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

फिट सरकारी संयन्त्र हो, जसअन्तर्गत उपयोगिता कम्पनीले नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादित विद्युत् दीर्घकालीन सम्झौतामार्फत निश्चित दरमा खरिद गर्छन्।

मन्त्रालयका अनुसार प्रायद्वीपीय मलेसिया र लाबुवानको सङ्घीय क्षेत्रमा रहेका योग्य नवीकरणीय ऊर्जा विकासकर्तालाई बायोग्यास, बायोमास र साना जलविद्युत् आयोजनाका लागि उक्त कोटा उपलब्ध गराइनेछ।

कुल कोटामध्ये बायोग्यासका लागि ३० मेगावाट, बायोमासका लागि १२० मेगावाट र साना जलविद्युतका लागि १०० मेगावाट छुट्याइएको छ।

यसका लागि ‘सस्टेनेबल इनर्जी डेभलपमेन्ट अथोरिटी’ (सेडा) मलेसियाको वेबसाइटमार्फत आगामी फेब्रुअरी ३ देखि मार्च २४ सम्म विद्युतीय बोलपत्र (ई–बिडिङ) मार्फत आवेदन दिन सकिनेछ।

मन्त्रालयले नयाँ फिट कोटाबाट तीन अर्ब रिङ्गिट बराबरको लगानी भित्रिने अपेक्षा गरिएको जनाएको छ। उक्त रकममा स्थानीय रूपमा जडान गरिएका ग्यास इन्जिन र बोयलर खरिदका लागि खर्च हुने ५१ करोड रिङ्गिटसमेत समावेश छ।

यो पहल सन् २०५० सम्म देशको कुल विद्युत् आपूर्तिमा नवीकरणीय ऊर्जाको हिस्सा ७० प्रतिशत पु¥याउने मलेसिया सरकारको लक्ष्यअन्तर्गत अघि बढाइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *