घटनामा दोषी देखिएकालाई कारबाही हुन्छ: मन्त्री यादव
सप्तरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
बिहीबार गृहजिल्ला राजविराज आएका मन्त्री यादवले राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घर पुगेर अस्पतालमा भएको घटनाबारे जानकारी लिनुका साथै आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
उक्त घटनाबारे जानकारी प्राप्त भए लगत्तै दोषी देखिएकामाथि कारबाहीको प्रक्रिया अघि बढिसकेको मन्त्री यादवले बताए । गत बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ३० वर्षीया बबिता पासवान सुत्केरी हुन अस्पताल पुगेकी थिइन् ।
आवश्यक रकमको जोहो गर्न नसकेपछि बबिताले सडकको पेटीमा छोरालाई जन्म दिएकी थिइन् । उक्त दृश्य सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो ।
