लैजान लागिएका दुई किशोरीको उद्धार, दुई पक्राउ
बाँके । बाँकेको दुर्गम नरैनापुर नाकाबाट कामको प्रलोभन देखाई फकाएर भारत लैजान लागिएका दुई किशोरीको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
उक्त नाकामा किशोरीलाई लिन आएका एक भारतीय नागरिकसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगन्जबाट भारततर्फ जाँदै गरेको अटोरिक्सामा दुई किशोरीलाई सशस्त्र प्रहरीले फेलापारेको थियो ।
उद्धार गरिएका दुवै किशोरी बर्दियाका रहेको सशस्त्र प्रहरी बल नं ३० गणले जानकारी दिएको छ । पक्राउ पर्नेमा नरैनापुरका हनुमान यादव, भारतको उत्तर प्रदेश श्रावस्तीका हनुमानप्रसाद महन्त छन् ।
उद्धार गरिएका दुवै किशोरीलाई आजै परिवारको जिम्मा लगाइएको शान्ति पुनः स्थापना गृह नेपालगन्जकी प्रमुख सम्झना चदराले जानकारी दिनुभयो । उहाँले उद्धार गरिएका किशोरीका केही साथी अझै पनि भारतमा रहेको उल्लेख गर्दै विशेष सूचनाका आधारमा प्रहरीलाई खबर गरिएको बताउनुभयो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नरैनापुर प्रहरीलाई बुझाइएको छ ।
