`

कसैलाई खबर नहोस्

पार्वती जोशी ३ असोज २०८३ १९:२६
बिशेष

कहानीसँगै अनि म
मसँगै मेरा कहानी

कहानीको राजा म, कहानीको रानी मै
कहानी मेरो आफ्नै
रमाउँछु कहानीमै

कहानीको तोड-मोड आफैँ
मिलन-बिछोड आफैँ
म आफ्नै कहानी लेख्न मस्त छु
म आफ्नै कहानीमा व्यस्त छु

म मेरो जबर्जस्त कहानीमा मस्त भएको कसैलाई खबर नहोस्।

म लान्छु कहानीलाई, म जान्छु कहानीसँगै
तर कसैलाई खबर नहोस्।

म कहाँ, किन जान्छु,
कसैलाई खबर नहोस्।

म हुँ त के थाहा नहोस्, म छु त के थाहा नहोस्
म स्वनिर्मित, म स्ववर्णी, म स्वगर्वी हुँ, स्वधर्मी हुँ
म स्वच्छन्द छु, जहाँ जान्छु स्वतन्त्रता लान्छु
म कुन धर्म मान्छु,
कसैलाई खबर नहोस्।
मेरो कर्म यही ठान्छु
कसैलाई खबर नहोस्।

मेरो खबरको खबर नहोस्,
खबर नै खबरसँग बेखबर रहोस्

मधुमास रहोस्, मदहोस रहोस्,
आँखामा मस्तीको लहर रहोस्
मसँग कुनै रहर नहोस्।
रहर नै मसँग बेखबर रहोस्

मेरो लागि तिम्रो जस्तै शहर नहोस्,
मेरो छुट्टै शहर होस्,
मिठा-मिठा सफर होस्
मलाई भेट्न म आफैँसित सबर नहोस्।
तर यसको कसैलाई खबर नहोस्

हर्षको उछाल होस्
मेरो आफ्नै लय-ताल होस्

म यस्तै गीत गुनगुनाऊँ
त्यो गीत अजर-अमर रहोस्
तर यसको कसैलाई खबर नहोस्।

मेरो खबर सबै बेखबर रहोस् 

….तर यसको कसैलाई खबर नहोस्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *