`

पुवाखोलामा बेलिब्रिज जडान सम्पन्न, इलाम–बिर्तामोड जोड्ने वैकल्पिक सडक खुल्यो

Nepal One HD ४ असोज २०८३ २०:३९
समाचार

इलाम,४ असोज । इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा) अन्तर्गत पुवाखोलामा बेलीब्रिज जडान कार्य सम्पन्न भएको छ ।

इलाम नगरपालिका–९ भाङटार र वडा नं ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान सम्पन्न भई आजदेखि यातायात सेवा सञ्चालन गरिएको सडक डिभिजन इलामका सूचना अधिकारी एवं इन्जिनयर अर्जुनकुमार घिमिरेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजारको लागतमा जडान गरिएको बेलिब्रिजको आज सडक डिभिजन इलामकी लेखा अधिकृत अनिषा बोखीले उद्घाटन गर्नुभयो ।

बेलिब्रिज २३० फिट लम्बाइ र १४ फिट चौडाइको रहेको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो । बेलिब्रिज जडानका लागि अन्य संरचना आर्थिक वर्ष २०८२/८३ मा नै तयार भइसकेको भए पनि भारतबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिजको सामग्री ढुवानी ढिला भएकाले जडान गर्न ढिलो भएको हो । प्राविधिक टोली भारतबाट नै आएर बेलीब्रिज जडानको काम गरेको थियो ।

बेलिब्रिज जडानपछि यहाँका बासिन्दा खुसी भएका छन् । बेलिब्रिज जडान भएपछि सो सडक मेची राजमार्गको वैकल्पिक सडक बनेको इलाम नगरपालिका–११ का तिलक श्रेष्ठले बताउनुभयो । सो स्थानमा आव २०८१/८२ मा सङ्घीय सरकारको रु एक करोड ४३ लाख ७६ हजार लागतमा जडान गरिएको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएको थियो । बेलिब्रिज बगाएपछि घाम लागेको समयमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सेवा सञ्चालन गरिदैँ आएको थियो ।

इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडक अन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण भएपछि मेची राजमार्गको विकल्प खुलेको छ । मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि बिर्तामोडसम्म ५० किलोमिटर दुरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *