त्रिपुरेश्वरमा चालकले नै बसमा आगो लगाएका हुन्?
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि चालकले नै बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
आगलागी हुँदा चालक बसभित्रै रहेको र बाहिर ननिस्किएको आधारमा प्रहरीले चालकबाटै आगजनी भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले पनि चालकले आगजनी गरेको हुन सक्ने आशंका गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताए।
‘यकिन कारण त पूरा अनुसन्धानपछि खुल्छ। तर अहिलेसम्मको अनुसन्धानमा चालकबाटै आगजनी भएको भन्ने हाम्रो निष्कर्ष छ,’ घिमिरेले भने।
प्रहरीले आगजनीको कारण भने खुलाइसकेको छैन। ट्राफिक प्रहरीसँग विवाद भएपछि चालकले बसमा आगो लगाएको हुन सक्ने आशंका गरिएको छ। यसको पुष्टि अनुसन्धानपछि मात्रै हुने प्रहरीले जनाएको छ।
आगलागी भएको बसको नम्बर बा ५ ख ४२७४ हो। बस चालक काभ्रेका २५ वर्षीय दावा लामा रहेको प्रहरीले जनाएको छ। आगलागीमा घाइते भएका उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ।
बसमा लागेको आगो सशस्त्र प्रहरीले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
