ग्यास संकटले हल्लायो सरकार : उद्योगमन्त्री आउट, सचिव तानिए प्रधानमन्त्री कार्यालय
काठमाडौं। एलपी ग्यासको संकटले उद्योग मन्त्रालयको नेतृत्व तहसम्मै असर देखाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)नेतृत्वको सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ।
दुवाडी गत असार ३० गते मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उद्योग मन्त्रालयमा आएका थिए। तर मन्त्रालयमा करिब दुई महिना बिताउन नपाउँदै उनको सरुवा भएको हो।
एलपी ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवले भदौ २५ गते राजीनामा दिएपछि सचिव दुवाडीको सरुवालाई पनि ग्यास संकटसँग जोडेर हेरिएको छ।
दुवाडी उद्योग सचिव रहेकै बेला लामो समयसम्म ग्यासको आपूर्ति असहज बन्यो। बजारमा ग्यास नपाउने समस्या बढेपछि उनको कार्यसम्पादनमाथि संसद् र सार्वजनिक तहमा प्रश्न उठेको थियो।
भदौ २४ गते प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पनि सांसदहरूले ग्यास आपूर्ति व्यवस्थापनबारे मन्त्री यादव र सचिव दुवाडीलाई प्रश्न गरेका थिए।
अब उद्योग मन्त्रालयको सचिवको जिम्मेवारी रुद्रसिंह तामाङले सम्हाल्ने भएका छन्। असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा भएका तामाङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन गरेको हो।
नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले भने ग्यास आपूर्ति सहज बनाउन पहल थालेका छन्।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग केही दिनका लागि दैनिक १६० बुलेट ग्यास पठाउन आग्रह गरेको छ।
मन्त्री साहले दसैँ, तिहार र छठजस्ता ठूला पर्वमा ग्यास, चिनी लगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिने बताएका छन्।
उपत्यकामा दैनिक ५० हजार सिलिन्डर ग्यास आपूर्ति गर्ने प्रतिबद्धता उद्योगीबाट आएको र त्यसको नियमित अनुगमन भइरहेको उनको भनाइ छ।
