बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।
महासंघले विज्ञप्ति जारी गर्दै यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन व्यवसायी तथा चालकलाई आग्रह गरेको हो। साथै, बिहीबारदेखि रातिको समयमा यात्रा नगर्न पनि महासंघले अनुरोध गरेको छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै लामो दूरीको यात्रा नगर्न तथा आवश्यक सावधानी अपनाउन सरोकारवालालाई आग्रह गरिसकेको थियो।
यसैअनुसार महासंघले आफ्ना सदस्य तथा यातायात व्यवसायीलाई सतर्कता अपनाएर मात्र सेवा सञ्चालन गर्न सचेत गराएको जनाएको छ।
मौसम पूर्वानुमानअनुसार यस साता निरन्तर वर्षा हुने सम्भावना रहेकाले विभिन्न स्थानमा सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने सरकारले जनाएको छ।
सोही कारण यात्राका क्रममा आवश्यक सावधानी अपनाउन र जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न आग्रह गरिएको छ।
